अश्लिल अपाच्य शव्द सुन्दै हेर्नुपर्ने नाटक “मुक्कुमलुङ” काठमाण्डौमा
चन्द्र मादेन आन्छन । अहिले पूर्वमा चलेको सवैभन्दा ठूलो द्वन्द्व मुक्कुमलुङ/पाथिभरा ताप्लेजुङमा केवलकार राख्ने या नराख्ने भन्ने आन्दोलन चर्केको आधा दशक ज्यादा भैसकेको छ । त्यहाँको स्थानीयवासी र छिमेकी जिल्लावासीलाई थाहा नहुने कुरै भएन । तर विश्वभर छरिएका सारा नेपालीहरुलाई किन यस्तो अराजक, हिंसा र द्वन्द्व भैरहेछ ? सवैलाई कौतुहल/जिज्ञासा लाग्न सक्छ । यी सारा कुरालाई विट मार्नको लागि “मुक्कुमलुङ” नाटक गत माघ २ गतेवाट सुरुभै आगामी २७ गते सम्म मन्डला थिएटर हल थापा गाँउ काठमाण्डौमा मञ्चन भैरहेछ ।
साहित्यकार गीलु रातोस, अनिल सुव्वा र स्वयं कलाकार विष्णु मोक्तानद्धारा संयुक्त लिखित मुक्कुमलुङ नाटकको निर्देशन स्वयं कलाकार अनिल सुव्वाद्वारा गरिएको हो । याक्थुङ/लिम्वु जातिको मुन्धुममा उल्लेख गरे अनुसार मानव समुदायकै पहिलो सृष्टि मुजिङ्ना खेयङ्ना नारीनै मुक्कुमलुङ (सेमुक्तु मुक्तु गोक्मा फोमा), फक्तालुङ र सेन्जेलुङ आदि पवित्र डाँणा हिमालको आसपासवाट उत्पत्ति हुँदै वस्ति वसालिएको कुरा उल्लेख गरिएको छ । यसैले यी जातिहरु मुक्कुमलुङलाई श्रीपेझैं आफ्नो चोत्लुङ शिर मान्दछ । यै पवित्र मुक्कुमलुङमा वायु, ढुङ्गा, माटो, पानी, जुन, घाम, आकाश, खोला, प्रकृति वाटै वैशांली नारी मुजिङ्ना खेयङ्नाको कोखवाट सुसुवेन लालावेन पुत्र जन्मन्छ । त्यहाँको हरियाली वन जङ्गल, डाँणा काँणामा रमाउदै ऊ किशोर कालमै सिकारी वन्दछ । लालावेन जवान भएपछि घर छोडेर आफ्नो पाँचवटा सिकारी कुकुरको साथमा आमा मुजिङ्ना संग विदावारीभै परदेश लाग्दछ ।
आमाले पनि छोरा लालावेनलाई —
“एकले अर्कालाई कहिलै एक्लै नपार्नु
एकले अर्काको शिर कहिलै नढाल्नु”
भनेर आशिर्वाद दिन्छिन । सिकारकै खोजिमा रमाईरहेका जोडी चराहरु मध्ये उस्ले एउटालाई वाँणले मारेर सराप पाउछ । फेरी सिकार घुमफिरकै क्रममा नारीहरु संग लालावेन प्रेममा लिप्त हुन्छ । कुनैवेला सिकार नपाउदा ऊ अरुको वारीको कन्दमुल र पिंडालु स्विकृति नलिई मिठो मानेर खाईदिन्छ । तर देवा (लिम्वुदेवा)लागेर या विक्षिप्त पंक्षीको सराप परेर त्यो खानाले सुतेपछि कहिलै नउठ्ने गरि मृत्युलोक जान्छ । उस्को सिकारी कुकुरहरु पनि चारवटाले क्रमश छोडेर जान्छ । अन्तिममा एउटै मात्र कुकुरले रुँघेको हुन्छ । डुलिरहेको पंक्षी र मौरीको माध्यमले त्यो अशुभ खवर उता आमा खेयङ्नालाई पुर्याउछ । सुरुमात कुकुरले भनेनी त्यो कुरो पत्याउदैन, तर धेरैजनाले भनेपछि छोरा लालावेनको मृत्युले उ भावविव्हल भै हृदय विदारक मुन्धुमी कारुणिक रौद्र हाक्पारे गीत गाउछ । जुन गीतले दर्शकहरु भाषा नवुझेपनि भावुक वन्दछ । लालावेनको प्रेमीकाहरुवाट भने वालवच्चाहरु फैलिन्छ, त्यसैको सन्तानको रुपमा मानव सृष्टि भएको भनेर मुन्धुमले वर्णन गरेको छ ।
नाटकको श्रीगणेश मण्डला थिएटरको प्रागणमा वाँसको लिङ्गो/याङ्ग्राङसिङहरु गाडेर, सिलाम साक्मा , स्याउला,मुवालो र घुग्री टाँगेर गाँउघरकै परिवेश जस्तै देखिने केहि घर आगनको दृश्य देखाईन्छ । जहाँ तीनजना धामी विजुवा योवाहरु द्वारा तङ्सिङ पुजा गरिएको हुन्छ । यसरी तङसिङ स्वास्थ्य, शान्त र समृद्धको लागि गरिएको हुन्छ । योवा पुजारीहरु थाल वजाउदै फलाक्दै खोला, नाला, डाँणा, काँडा, वन, जङ्गल, हावा, पानी, आदि मिथक मानी मुन्धुमको कुरा गर्दै यसरी याक्थुङ किरात जातिको शिरनै मुक्कुमलुङ, फक्तालुङ र सेन्जेलुङको वर्णन गर्दछ । यो दृश्यमा विरोजगार अल्लारे ठिटाहरु गाँउमा तास खेलेको, केहि वेकामे पुरुषहरु रक्सीले मातेर झल्लु भएको, गाँउघरमा ईस्टमित्र थुप्रिएर कचरी वसी – “गाँऊ वाँच्नुपर्छ, संस्कृति वाँच्नुपर्छ” आदि भन्दै आआफ्नो दुनिंयामा गाँउघर रमाएको करिव २५ मिनेटको खुल्ला जीवन्त दृश्य देखाईन्छ ।
जस्मा अग्रज वुद्धिजिवी तुम्याहाङहरु योवा पुजारीहरुलाई —
“वोटविरुवा पहाड सवैको शिर ढलेकोहोला,
माङ्गेना(शिर उठाई) गरिदेउ है”
भनेर ईशारा गर्छन ।
करिव अढाई घन्टाको नाटकमा झन्डै दुई घन्टाको मुन्धुम संग आधारित मिथकहरुको कहानी भएको हुन्छ । त्यसपछिभने अहिलेको समसामयिक विषय भनेको सुदुर पूर्व ताप्लेजुङको मुक्कुमलुङमा जुगौंदेखि वसोवास गरेका वहुसंख्यक लिम्वु जातिको पवित्र मुन्धुमी, संस्कृति, आध्यात्मिक, प्रकृतिक, पर्यावरणलाई विनास गर्न केहि कुत्वत्व लागिरहेका छन । त्यैपनि केवल एउटा ठेकेदार व्यक्तिलाई पोस्न केहि पार्टीका स्वार्थीहरुको मिलोमतोमा राज्यद्वारा निति, नियम र कानुनकै वर्खिलाप गर्दै विश्व सम्पदाकै उचाईमा रहेका यो पवित्र आस्था र अस्तित्व माथि जघन्य अपराध र खेलवाड गरिहेछन । किनकी विकासको नाममा विनास कुनै हालतमा हुनसक्दैन ।
विकासै चाहने हो भने ताप्लेजुङमा फुङफुङे झर्ना, कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, सिङ्जेम्मा ताल, तिम्वुङ पोखरी, लोदेन ताल, चीनसंग जोडिएको नाका ओलाङचुङ गोला आदि प्रसस्तै प्रवल पर्यटन सम्भावना वोकेको यी रमणीय महत्वपूर्ण ठाँउहरुमा खोई यातायात खोई केवलकार ? पूर्वकै सवैभन्दा ठूलो जिल्ला स्वयं सदरमुकाम फुङलिङमा अहिलेसम्म पर्यटकको मन अढिने आकर्षण मनोरञ्जनात्मक रमाईलो कुरो खोई के छर ? तर यी पार्टीका ठूटे नेता र पार्टीका झोलेहरुको चस्मामा कुदृष्टि सोचले डेरा जमाएको छ । यिनीहरु विकास वन्दै चाहदैन आफ्नो गोजी तताएर विनास गर्न तल्लिन छ । त्यसैले यिनीहरुनै मुख्य विकास विरोधी वाधक हुन भन्ने छर्लङ्ङै भएको छ । मुलवासी आदिवासीहरुको नैसर्गिक हक र अधिकार माथि दमन गरिएको छ । हो यसैको आधारमा यो ऐतिहासिक नाटक देखाईएको छ ।
यो मुक्कुमलुङ एउटा लिम्वु किरात समुदायको शिर/चोत्लुङ सभ्यता मात्र नभएर सिङ्गो नेपाल राज्यको साझा संम्पदा हो । यसको प्रकृति सुन्दरता विच्छट्टै अवर्णनिय छ । हजारौं वर्ष पुराना रुख, वोटविरुवा, जैविक आयुर्वेदिक जरिवुटी देखि राष्ट्रिय फूल लाली गुराँस आदि मास्न धार्मिक र कानुनी अपराधत छदैंछ । घनघोर अजङ्गको जङ्गलभित्र रमाउने निर्दोष जिजीविषा पशुपंक्षीहरु लोपोन्मुख भएका रेड पान्डा, घोरल, मृग, डांफे, मुनाल आदि असङ्ख्य वन्यजन्तुहरु सवैको विनासले सुन्दर र स्वच्छ पर्यावरणमा कति असर पुर्याउछ !
यसैको सन्देश —
“हामी आ-आफै वाझेर लडाँई गरेर हुदैन
प्रकृति प्रकोपको वारेमा कहिलै सोचेका छौ” ?
भनेर मञ्चवाट विरोधी र दर्शकलाई सुनाईन्छ ।
निर्देशक अनिल सुव्वाद्वारा गरिएको रङ्गमञ्चका झन्डै दुई दर्जन पात्र कलाकारहरु — विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्वु, सौजन सेनेहाङ, अन्जना थुलुङ, सम्पता थुलुङ, मणी कु. राई, नुमा राई, नमिता राई, प्रविण मगर, भूमिका थारु, पवन गोले, अजय लामा, डेविट सुवेदी, सन्जित थुलुङ, अमर व. वुढाथोकी, आकाश सुहाङ र ईशा सिन्जाली सवैको भूमिका सन्तोष जनक र प्रशंसा गर्न लायक देखिन्छ । मुजीङ्ना खेयङ्नाको अभिनय गर्ने पात्र कलाकारहरु वेदना राई तानवुन्ने र धागो वनाउने वुढी वोजुहरु अलि कुप्री, चाउरी परेकी, कपाल फूलेकी कुप्री कुप्री देखाउनु पर्थियो भने धागोवाली तानवालीको श्वर आवाज मसिनो भएकोले पछाडीको दर्शकहरुले सुन्दैनथिए । अर्का महसुर कलाकारहरु विष्णु मोक्तान र साथीहरुको योवा झाक्रीको हाउभाउ, भेषभूषा र अभिनय प्रशंसनीय छ भने सुरज तमुको सुसुवेन लालावेन पात्रको अभिनय पनि उत्तिकै प्रशंसनीय र गर्व गर्न लायक मानिन्छ । समग्रमा सवै कलाकारहरुको जीनन्त अभिनय, हाउभाउ, कलात्मक भेषभूषा र सभामन्डपको साजसज्जा रोमाञ्चक आकर्षण छ । साउन सिस्टममा कुनैकुनै गीतमा अचानक ठूलो वजाएता पनि लाईट सिस्टम र साऊन सिस्टमलाई राम्रै मान्नुपर्दछ । कम्तिमा अन्तिममा भएनि सवैकलाकारको परिचय दिनुपर्नेथियो ।
तर प्रत्यक्ष दर्शकको नाताले कुरो नचपाई भन्नैपर्छ । सुसभ्य समाजमा यतिको ऐतिहासिक महान नाटक देखाईसके पछि अश्लिल अपाच्य शव्द (मुला जिम्वु खाने, जाँड खाने) हरुले नाटकलाई कमजोर र अशोभनीय पारेको छ । त्यस्तै अहिलेको समसामयिक निम्न मुद्धाहरुको कुरा उठान गर्नै पर्दथियो ।
१, राज्य र प्रमुख राजनीतिक दलहरु किन एउटै व्यक्तिको पछि लागेर नकाम विध्वङ्स मच्चाईरहेछ ?
२, नित्य हिंसा र द्वन्द्व चर्किरहेछ, समाधानर निकासको निम्ति राज्यपक्ष वार्तामा जान किन वन्दै चाँहदैन ?
३, मुक्कुमलुङको लडाँई समाधान र निकासका उपाय केके हुन ?
४, मुक्कुमलुङको निम्ति केवकार आवश्यक छकी छैन ? छैनभने के कारणले छैन ?
५, सुरुमा प्रति रोपनी ९० हजारमा किनीएर सवै जग्गालाई ८ लाख मुल्यको जग्गालाई एकैचोटी झन्डै ३० करोडमा कसरी किन किनवेच भयो ?
६, नेपालको सविधान धारा ३२ उपधारा ३ ले र अन्तराष्ट्रिय सयुक्त राष्ट्रसंघको महासन्धि (आईएलओ)ले स्पष्ट रुपमा मुलवासी आदिवासीहरुको धर्म, संस्कृति, भूमि आदिलाई संरक्षण गर्न अधिकार दिईएको कुरोलाई स्वयं राज्यपक्षवाटै किन उलङ्घन र वर्खिलाप गरियो ?
हुनत गत असोज २ देखा २० गते सम्म पनि शिल्पी थिएटर वत्तिसपुतलीमा पवित्र राईले निर्देशन गरेको यस्तै नाटक मुक्कुमलुङमा देखाएता पनि यी माथिका उल्लेख गरिएका कुराहरु वन्दै ऊठाएका थिएन । तर त्यो पहिलो मुक्कुमलुङ नाटक भन्दा अहिलेको मुक्कुमलुङ नाटक भने धेरै गर्व गर्न लायक भने अवश्य छ । सवैभन्दा ठूलोकुरो प्रकृति र संस्कृतिको संरक्षण गर्न आस्था र अस्तित्वको लागि अन्याय र अत्याचारको विरुद्ध रङ्गमञ्चवाटै यत्रो ऐतिहासिक नाटक “मुक्कुमलुङ” प्रदर्शन गर्नु योनै महत्वपूर्ण कुरा हो । मानव सृष्टि देखि मृत्यु सम्म हुदै अहिलेको समसामयिक चर्केको वर्तमान परिवेशको एउटा रङ्गमञ्चवाट वुलन्द आन्दोलननै हो । त्यसैले मुक्कुमलुङ नाटकका परिकल्पनाकार, लेखक, निर्देशक, कलाकारहरु र सवै टिमका सवैलाई हार्दिक वधाई तथा शुभकामना । तथास्तु ।









