‘गोलढुङ्गो’ : समय, समाज र अस्तित्वबोधको प्रतिध्वनि
पुस्तक समीक्षा
तोमनाथ उप्रेती । बाबुराम पोखरेल खोटाङको उर्वर माटोमा जन्मिएर कर्मभूमि विराटनगर–३ लाई बनाउँदै आउनुभएका प्रतिभाशाली, कर्मठ र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। नेपाली विषयमा स्नातकोत्तर (एमए) शिक्षा हासिल गर्नुभएका पोखरेलले सरकारी सेवामा लामो समय समर्पित भई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुभयो र सेवाबाट निवृत्तिपश्चात् साहित्यिक तथा बौद्धिक क्षेत्रमा आफ्नो सक्रियता अझ विस्तार गर्नुभएको छ। अध्ययन, अनुभव, चिन्तन र सिर्जनशीलताको सुन्दर समन्वय उहाँका प्रकाशित पुस्तकहरूमा प्रतिबिम्बित हुन्छ। उहाँका कृतिहरूले नेपाली भाषा, साहित्य, समाज र जीवनका विविध पक्षलाई संवेदनशील ढङ्गले उजागर गरेका छन्। सरल व्यक्तित्व, गहन अध्ययन, स्पष्ट विचार र सिर्जनात्मक चेतनाका धनी पोखरेल साहित्यप्रेमी पाठकका लागि सम्मानित र प्रेरणादायी स्रष्टा हुनुहुन्छ। उहाँको साहित्यिक योगदान नेपाली वाङ्मयका लागि मूल्यवान् सम्पत्तिका रूपमा दीर्घकालसम्म स्मरणीय रहनेछ।
साहित्य जीवनले मनमा छोडेको कम्पन, प्रश्न, पीडा, विस्मय र अनुभूतिको कलात्मक पुनर्संरचना हो। त्यसैले कुनै कृति पढ्नु भनेको त्यस कृतिभित्र धड्किरहेको समय, समाज, चेतना र स्रष्टाको अन्तरमन पढ्नु पनि हो। बाबुराम पोखरेलको मुक्तकसङ्ग्रह ‘गोलढुङ्गो’ यही अर्थमा जीवन, समाज, राजनीति, संस्कृति, मानवीय सम्बन्ध, अस्तित्व र नैतिक प्रश्नहरूसँग गरिएको गम्भीर संवादका रूपमा उपस्थित भएको देखिन्छ।
‘गोलढुङ्गो’ शीर्षक आफैँमा अत्यन्त अर्थपूर्ण र बहुस्तरीय प्रतीक हो। भिरालो पहाडबाट खुस्किएको गोलढुङ्गो कुनै निश्चित गन्तव्य, आश्रय वा पहिचानबिना जहाँ पुग्छ, त्यहीँ केही समय अडिन्छ। मानिसको अस्तित्व पनि कतिपय अवस्थामा यस्तै विस्थापित, अनिश्चित र उपेक्षित हुन्छ। सङ्ग्रहको एउटा चर्चित मुक्तकमा कवि भन्छन्—

(तोमनाथ उप्रेती)
“मलाई न पर्खिन्छ न खोज्छ कसैले
म बेटुङ्गो न हुँ सबैको ध्यान कोसातिर जान्छ
आखिर म त बुङ्गो न हुँ
विश्राम या बास मेरो जुन चौडिलोमा पनि हुन सक्छ
आखिर भिरालो पहाडबाट खुस्किएको गोलढुङ्गो न हुँ।”
यहाँ ‘गोलढुङ्गो’ मानिसको सामाजिक विस्थापन, पहिचानको संकट, अवसरहीनता र अस्तित्वगत एकान्तको प्रतीक हो। यही शीर्षकीय प्रतीकले सम्पूर्ण कृतिलाई एक प्रकारको दार्शनिक धुरी प्रदान गरेको छ।
‘गोलढुङ्गो’लाई नजिकबाट बुझ्न यसको सिर्जनात्मक पृष्ठभूमिसँग जोडिएको गुरु–शिष्य सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ। झण्डै तीन दशकभन्दा लामो समयपछि पुनः साहित्यिक कृतिमार्फत गुरु र शिष्यको भावनात्मक भेट हुनु आफैँमा एउटा सुन्दर साहित्यिक संयोग हो। शिक्षण, प्रशासन, बैंकिङ, सामाजिक जीवन र समयका विभिन्न घुम्तीले मानिसलाई भौतिक रूपमा टाढा पुर्याए पनि साहित्यले चेतनाको सम्बन्धलाई पुनः जोड्न सक्छ। यस अर्थमा गोलढुङ्गो एउटा पुस्तान्तरण हुँदै आएको साहित्यिक संस्कारको पनि दस्तावेज हो।
गुरु चेतनाको पहिलो ढोका खोल्ने व्यक्ति पनि हो। गोलढुङ्गोको प्रसङ्गमा विद्यालयीय दिन, नेपाली भाषा साहित्यप्रतिको आकर्षण, शिक्षकको प्रेरणा र प्रारम्भिक सिर्जनात्मक चेतनाले कविको साहित्यिक व्यक्तित्व निर्माणमा खेलेको भूमिका विशेष अर्थपूर्ण देखिन्छ। यसले कृतिको भावभूमिमा स्मृति, कृतज्ञता र साहित्यिक उत्तराधिकारको सौन्दर्य थपेको छ।
मुक्तकको शक्ति यसको लघुताभित्र समेटिएको विराट अनुभूतिमा हुन्छ। चार हरफमा सीमित रचना सफल हुनका लागि त्यसमा भावको पूर्णता, अन्तर्निहित अर्थ, चमत्कार, लय, व्यञ्जना र अन्त्यमा पाठकलाई झस्काउने वा सोच्न बाध्य बनाउने प्रभाव आवश्यक हुन्छ।
यस दृष्टिले गोलढुङ्गोका मुक्तकहरूले मुक्तकको स्वतन्त्र साहित्यिक अस्तित्वलाई स्थापित गर्न खोजेको देखिन्छ। मुक्तक आफैँमा पूर्ण अनुभूतिको संरचना हो। संस्कृत काव्यशास्त्रको मुक्तक परम्परादेखि अरबी, फारसी रुबाई र अंग्रेजी क्वाट्रेनसम्म विकसित लघु काव्यरूपसँग यसको संरचनात्मक साम्य देखिन्छ। तर नेपाली मुक्तकले आफ्नो मौलिक सामाजिक र भाषिक धरातल निर्माण गरिसकेको छ। ‘गोलढुङ्गो’ त्यही विकासक्रमको एउटा सशक्त अभिव्यक्ति हो।
शब्दले आफ्नो प्रत्यक्ष अर्थभन्दा पर अर्को अर्थ, अनुभूति वा दृश्य उत्पन्न गर्न थालेपछि कविता जन्मन्छ। ध्वनि, लक्षणा, व्यञ्जना, बिम्ब, प्रतीक र अलङ्कारको समुचित प्रयोगले कविताको प्रभाव बढाउँछ। ‘गोलढुङ्गो’का मुक्तकमा यस्ता काव्यिक उपकरणहरूको प्रयोग उल्लेखनीय छ।
“आसनमुनि किचिएको साङ्लाको लास
मुनि बसेका पुराणवाचक पण्डितले
खै के के भन्छन् ठेगान छैन।”
जस्ता बिम्बले हाम्रो सामाजिक संरचनाभित्र लुकेको विसङ्गति, पाखण्ड र नैतिक विरोधाभासलाई समेत उद्घाटित गर्छ। त्यस्तै—
“दुर्गन्धको पराकाष्ठा त
कुराउनी कुहेपछि।”
जस्तो अभिव्यक्तिले सामान्य घरेलु अनुभवलाई सामाजिक रूपकमा रूपान्तरण गर्छ। कुहिएको कुराउनी यहाँ सड्दै गएको सामाजिक संस्कार, संस्थागत विकृति वा नैतिक क्षयको तीव्र प्रतीक बन्न पुग्छ।
‘गोलढुङ्गो’को प्रमुख सौन्दर्यगत विशेषता यसको व्यङ्ग्य चेतना हो। कविले समाजलाई उपदेश दिने शैलीभन्दा विसङ्गतिको ऐना देखाउने शैली रोजेका छन्। यही कारण कतिपय मुक्तक पाठकलाई हँसाउँछन्, तर हाँसो सकिएपछि सोच्न बाध्य बनाउँछन्।
“सानालाई ऐन, ठूलालाई चैन” भन्ने सामाजिक यथार्थमाथिको प्रहार यस सङ्ग्रहमा बारम्बार भेटिन्छ। कमजोरका साना गल्ती पहाड बनाइन्छन्, शक्तिशालीका ठूला अपराध पनि पद, पैसा र पहुँचका आवरणभित्र लुक्छन्। यस्तो सामाजिक दोहोरो मापदण्डप्रति कविको असन्तुष्टि नैतिक आक्रोशका रूपमा व्यक्त हुन्छ। घमण्डमाथिको व्यङ्ग्य पनि उल्लेखनीय छ। कवि भन्छन,
“घमण्डको डिग्री म त अँह कहिल्यै नाप्न सक्तिनँ
बरु जाडो होस्, घर बालेर आगो ताप्न सक्तिनँ
निकै मत्ता थियो साँढे गोरु, भिरतिर गएछ आज
राम राम ! सम्म भनेको हुँ, काँध थाप्न सक्तिनँ।”
यहाँ ‘मत्ता साँढे’ व्यक्तिगत अहंकार , नियन्त्रण गुमाएको सत्ता, नेतृत्व र संस्थागत दम्भको रूपकसमेत बन्न पुग्छ। यस दृष्टिले कविको व्यङ्ग्य नैतिक दर्शन हो।
कृतिको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक न्यायप्रतिको संवेदनशीलता हो। लैङ्गिक विभेद, वर्गीय असमानता, धार्मिक तथा सांस्कृतिक रूढि, अवसरको असमान वितरण र सामाजिक पाखण्डप्रति कविको दृष्टि आलोचनात्मक छ।कवि भन्छन,
“बाल्यकालको एउटा रमाइलो, छुनुमुनुमा थियो
यौवनावस्थादेखि उनको दिनचर्या नै रुनुमा थियो।”

कवि महिलाको जीवनमा सामाजिक अपेक्षा, नियन्त्रण र विभेदले ल्याउने मानसिक पीडालाई अत्यन्त सरल तर मार्मिक ढङ्गले प्रस्तुत गर्छन्। यहाँ नारीवादी चेतना घोषणापत्रको भाषामा मात्र आएको छैन; बरु अनुभूतिको भाषामा आएको छ। यही यसको सौन्दर्य हो।यस अर्थमा गोलढुङ्गोको सामाजिक दर्शन मानवकेन्द्रित छ। मानिसलाई जात, लिङ्ग, वर्ग, पद वा शक्तिको आधारमा होइन, उसको मानवीय अस्तित्वका आधारमा हेर्नुपर्छ भन्ने अन्तर्निहित आग्रह यसमा देखिन्छ।
कृतिमा एउटा अत्यन्त रोचक दार्शनिक पक्ष आलोचकप्रतिको कविको दृष्टिकोण हो। कवि आलोचनाबाट भाग्दैनन्। आलोचकलाई गुरुका रूपमा स्वीकार गर्छन्।
“भित्रभित्रै खोइरो खन्दै, बाहिर चिप्लो घस्ने,
दुखदाताहरूलाई संसार चिनाउने गुरु मानी
टपक्क नमस्कार गर्न मन लाग्छ।”
यो दृष्टिकोण पूर्वीय आत्मपरिष्कारको परम्परासँग जोडिन्छ। मानिस आफ्ना प्रशंसकबाट भन्दा आलोचकबाट धेरै सिक्न सक्छ।
साहित्यको उत्पत्ति प्रायः जीवनका असहज क्षणबाट हुन्छ। पीडा जब भाषाविहीन रहन्छ, त्यो कुण्ठा बन्न सक्छ; जब त्यसले कलात्मक भाषा पाउँछ, साहित्य बन्न सक्छ। कविको यो अनुभूति अत्यन्त मार्मिक छ।कवि भन्छन,
“मनका पीडा सधैं रेटी रेटी गितार भएँछु
केही न केही त लेख्नै पर्ने विमार भएँछु
ढुङ्गामुनि बाङ्गिएर निस्किएको बिरुवा झैँ
म पनि पो आज हेर्नुस् मुक्तककार भएँछु।”
यहाँ ‘गितार’, ‘विमार’, ‘ढुङ्गामुनि उम्रिएको बिरुवा’ आदि बिम्बले सिर्जनाको मनोविज्ञानलाई अभिव्यक्त गरेका छन्। पीडा विनाशको कारण मात्र होइन, सिर्जनाको ऊर्जा पनि बन्न सक्छ। यही धारणा अस्तित्ववादी दर्शनसँग पनि जोडिन्छ।मानिसले जीवनले दिएको परिस्थिति बदल्न नसके पनि त्यसको अर्थ आफैँ निर्माण गर्न सक्छ।
सङ्ग्रहमा सामाजिक व्यङ्ग्यसँगै प्रकृति, बाल्यकाल, स्मृति, आस्था र मानवीय सम्बन्ध पनि उपस्थित छन्। यसले कृतिलाई राजनीतिक वा सामाजिक व्यङ्ग्यको सङ्ग्रह मात्र बन्नबाट जोगाएको छ। बाल्यकालप्रतिको मोह र प्रकृतिप्रतिको आकर्षणले कविको संवेदनात्मक पक्षलाई उजागर गर्छ।यही बहुविषयगत विस्तारले गोलढुङ्गोलाई आधुनिक जीवनको बहुआयामिक दस्तावेज बनाउँछ। प्रेम, पीडा, पारिवारिक स्नेह, सामाजिक विकृति, धार्मिक आडम्बर, भ्रष्टाचार, बेइमानी, इमानमाथिको प्रहार, अवसरहीनता, राजनीतिक दम्भ र मानवीय करुणा सबै विषय एउटै काव्यिक चेतनामा जोडिएका छन्।
नेपाली साहित्यमा देवकोटाको मानवतावाद, भूपी शेरचनको सामाजिक व्यङ्ग्य, शङ्कर लामिछानेको बौद्धिक व्यङ्ग्यात्मकता, कृष्णभूषण बलको सामाजिक चेतना तथा पछिल्लो पुस्ताका कविहरूमा देखिएको अस्तित्वबोध र विसङ्गतिचेतनासँग गोलढुङ्गोका केही प्रवृत्तिहरू संवाद गर्छन्। भूपीको कवितामा जस्तै यहाँ पनि सामाजिक विसङ्गतिप्रतिको असन्तोष छ। तर पोखरेलको अभिव्यक्तिको प्राथमिक माध्यम मुक्तक भएकाले उहाँको भाषा बढी चोटिलो र अन्तिम हरफमा प्रभाव निर्माण गर्ने प्रकृतिको छ।
देवकोटाको विराट मानवतावादी दृष्टिकोणसँग तुलना गर्दा गोलढुङ्गोको संसार सानो क्यानभासमा देखिए पनि त्यसभित्रको मानवीय सरोकार व्यापक छ। देवकोटाले विराट काव्यात्मक उडानमार्फत मानवको महत्ता खोजे भने पोखरेलले दैनिक जीवनका साना दृश्य, व्यङ्ग्य र प्रतीकमार्फत मानिसको गरिमा र पीडा खोजेका छन्।
विश्व साहित्यमा पाब्लो नेरुदाको कविताले व्यक्तिगत अनुभूतिलाई सामाजिक र राजनीतिक चेतनासँग जोडेको पाइन्छ। गोलढुङ्गोमा पनि निजी पीडा र सामाजिक यथार्थबीचको सीमारेखा धेरै ठाउँमा मेटिएको छ। नेरुदाको काव्यमा प्रेम, प्रकृति र राजनीतिक प्रतिरोध एकै चेतनामा मिसिन्छन् भने पोखरेलको मुक्तकमा प्रेम, व्यङ्ग्य, प्रकृति र सामाजिक आलोचना लघु संरचनाभित्र समेटिन्छ।
रवीन्द्रनाथ ठाकुरको साहित्यमा मानिस, प्रकृति र आत्माको सम्बन्ध अत्यन्त गहिरो छ। गोलढुङ्गोमा त्यो स्तरको आध्यात्मिक विस्तार नभए पनि सामान्य जीवनभित्र अर्थ खोज्ने प्रवृत्ति ठाकुरको मानवीय दर्शनसँग संवाद गर्न सक्ने देखिन्छ।
टी. एस. इलियटको ‘द वेस्ट ल्यान्ड’ ले आधुनिक सभ्यताको आध्यात्मिक र नैतिक विघटनलाई विखण्डित बिम्बमार्फत प्रस्तुत गरेको थियो। ‘गोलढुङ्गो’ त्यति विराट आधुनिकतावादी संरचनामा निर्मित छैन; तर कुहिएको सामाजिक परिवेश, धार्मिक आडम्बर, नैतिक क्षय र मानवीय एकान्तका बिम्बहरूमा आधुनिक विसङ्गतिको नेपाली संस्करण भेटिन्छ।
त्यस्तै नोबेल पुरस्कार विजेता विस्लावा सिम्बोर्स्काको कवितामा सामान्य वस्तु र दैनिक जीवनबाट गम्भीर दार्शनिक प्रश्न उठाउने अद्भुत क्षमता पाइन्छ। गोलढुङ्गोमा पनि ढुङ्गो, साँढे, ऐना, मैना, कुराउनी, साङ्लो आदि सामान्य वस्तुहरूले मानवीय र सामाजिक अर्थ ग्रहण गर्छन्। यही वस्तुबाट दर्शनतर्फ जाने क्षमता मुक्तकको उल्लेखनीय शक्ति हो।
‘गोलढुङ्गो’को भाषा अत्यधिक संस्कृतनिष्ठ वा कृत्रिम छैन। लोकप्रचलित शब्द, उखान, टुक्का, बोलिचालीका पदावली र सांस्कृतिक संकेतको प्रयोगले भाषा जीवन्त बनेको छ। “कहाँ नभएको जात्रा हाँडीगाउँमा”, “रक्षक नै भक्षक”, “गर्नेभन्दा हनुमान पगरी गुल्ले ढेडु”, “जा तान्यो उति छोटो, जति ताछ्यो उति ठूलो” जस्ता अभिव्यक्तिले नेपाली सामाजिक भाषिक संस्कृतिलाई मुक्तकमा प्रवेश गराएका छन्। यसले कृतिलाई सामाजिक भाषाको अभिलेखसमेत बनाएको छ। व्यङ्ग्यमा उखान–टुक्काको प्रयोगले चोट बढाएको छ भने प्रतीकात्मक भाषाले अर्थको गहिराइ बढाएको छ।
कृतिको सबैभन्दा ठूलो शक्ति यसको विषयगत विविधता, व्यङ्ग्यात्मक धार, बिम्बात्मकता, भाषिक सहजता र सामाजिक सरोकार हो। प्रत्येक मुक्तकमा एउटै प्रकारको भाव दोहोरिन नदिई जीवनका फरक फरक आयाम समेट्ने प्रयास गरिएको छ। यही कारण सङ्ग्रह लामो हुँदै जाँदा पनि पाठकले नयाँ विषय र नयाँ बिम्ब भेटिरहन्छ।
तर यति धेरै सामाजिक विषय समेट्ने क्रममा कतिपय ठाउँमा विचारको प्रत्यक्षता कविताको बहुअर्थी सौन्दर्यमाथि हाबी हुने सम्भावना पनि देखिन्छ। मुक्तकको प्रकृति नै अत्यन्त संक्षिप्त भएकाले केही रचनामा कथ्यलाई थप व्यञ्जनात्मक र पाठकलाई अर्थ निर्माण गर्ने अवकाश दिने गरी प्रस्तुत गर्न सके प्रभाव अझ गहिरो हुन सक्थ्यो। शक्तिशाली मुक्तकले पाठकलाई उत्तर दिनुभन्दा प्रश्न छाड्दा बढी समयसम्म सम्झनामा रहन्छ। गोलढुङ्गोको आगामी सिर्जनायात्रामा यो पक्ष थप परिष्कृत हुने अपेक्षा गर्न सकिन्छ।
समग्रमा ‘गोलढुङ्गो’ नेपाली मुक्तक साहित्यको भीडमा समयलाई हेर्ने आलोचनात्मक आँखाको अभिव्यक्ति हो। यसमा कवि कहिले व्यङ्ग्यकार बनेर सामाजिक विकृतिमाथि प्रहार गर्छन्, कहिले दार्शनिक बनेर अस्तित्वको प्रश्न उठाउँछन्, कहिले मानवतावादी बनेर पीडित मानिसको पक्षमा उभिन्छन्, कहिले प्रेम र स्मृतिको कवि बन्छन् र कहिले आफ्नै आलोचकलाई गुरु मानेर आत्मपरिष्कारको बाटो रोज्छन्।
कृतिको मूल दर्शनलाई एउटै वाक्यमा समेट्नुपर्दा भन्न सकिन्छ मानिस परिस्थिति, समाज र समयबाट प्रभावित हुन्छ, तर चेतना, विवेक र सिर्जनशीलताका माध्यमबाट आफ्नो अस्तित्वको अर्थ आफैँ निर्माण गर्न सक्छ।
गोलढुङ्गोको शीर्षकमा रहेको ढुङ्गो निष्प्राण वस्तु होइन; त्यो जीवनको यात्रा हो। भिरालोबाट खुस्किनु नियति हुन सक्छ, तर कहाँ अडिने, कसरी अडिने र आफूले छोएको ठाउँमा कस्तो अर्थ छाड्ने भन्ने कुरा मानिसको चेतनासँग सम्बन्धित हुन्छ। यही कारण ‘गोलढुङ्गो’ अन्ततः विस्थापनको मात्र कथा होइन; प्रतिकूलताबीच पनि आफ्नो अस्तित्व खोज्ने मानिसको कथा हो।
सफल साहित्यले पाठकलाई आफ्नै समय, समाज र आत्मासँग पुनः परिचित गराउँछ। गोलढुङ्गोले यही काम गर्न खोजेको छ। यसका मुक्तकहरू पढिसकेपछि प्रश्न उठ्छ, हामी पनि कतै समयको भिरालोबाट खुस्किएका गोलढुङ्गा त होइनौँ? अथवा अझै पनि आफ्नै चेतना, विवेक र मानवीय मूल्यको धरातलमा उभिने प्रयास गरिरहेका छौँ?
सायद यही प्रश्न नै यस कृतिको सबैभन्दा ठूलो साहित्यिक उपलब्धि हो। किनकि राम्रो कविता उत्तरमा समाप्त हुँदैन; पाठकको मनभित्र एउटा दीर्घ प्रतिध्वनि छाडेर समाप्त हुन्छ। ‘गोलढुङ्गो’ त्यही समयको, समाजको, पीडाको, व्यङ्ग्यको र अन्ततः मानवीय अस्तित्वको प्रतिध्वनि हो।

