क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ

विराटनगर – वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्।

यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।

पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेका पाँच जनाले विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई ठगेको पाइएको छ।

क्यानडा पठाइदिने भन्दै उनीहरूले सुरूमा ह्वाट्स एपको माध्यमद्वारा चौधरी बाबु-छोरासँग जोडिएका थिए। त्यसपछि उनीहरूले ६६ लाख ६७ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाए।

‘रकम जम्मा गरेपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडित प्रहरीमा उजुरी दिन आएका थिए,’ चिमरियाले भने।

पक्राउ परेकामध्ये जोगबनीका केशव यादवले अन्य मानिसहरूलाई समेत पैसाको प्रलोभन देखाएर इसेवा, खल्तीजस्ता डिजिटल वालेट खोल्न लगाएर ठगी गरेको पाइएको छ।

‘उनले डिजिटल वालेट खोल्न लगाएर त्यसको युजर नेम र पासवर्ड लिई कारोबार गरेको देखिएको छ,’ चिमरियाले भने।

पक्राउ परेकाहरूविरूद्ध मोरङ जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

चिमरियाका अनुसार युरोप, अमेरिका, कुवेत, दुबईलगायत देश पठाउने भन्दै ह्वाट्स एपबाट जोडिँदै ठगी गर्ने समूह सक्रिय छ। त्यस्तै प्रकृतिको अपराध चौधरी बाबु-छोरामाथि भएको अनुसन्धानले देखाएको छ।

‘सामाजिक सञ्जालहरूबाट जोडिँदै विभिन्न बहानामा रकम ठगी गर्ने समूह सक्रिय रहेकाले यसप्रति सचेत रहन हामी अनुरोध गर्छौं,’ उनले भने, ‘अहिले पक्राउ परेकाले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको गुनासो रहेकाले कोही ठगिएको भए प्रहरीमा आउन अपिल गर्दछौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।