एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गर्नुभएको छ ।

विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि मुख्य म्यान्डेट भएको उहाँले बताउनुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले भन्नुभयो, “एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरुलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ ।”

२०६३ सालपछिको राजनीतिक व्यवस्था फेरिएपछि आएको नागरिकता ऐनले विदेशमा बस्ने सबै नेपालीलाई अन्याय गरेको छ, उहाँले भन्नुभयो, “अवसरको खोजीमा विदेशमा गएको नेपाली अवसर पायो विदेश बस्यो, उतैको नागरिकता लियो भन्दैमा उसलाई नेपाली नै होइन भन्न कहाँ पाइन्छ ? हामीले पनि यसलाई संशोधन र परिमार्जनका लागि माग गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्छौँ ”

विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उहाँले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गर्नुभयो ।

उक्त भेटमा अध्यक्ष डा बद्री केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नभएको र त्यसले खरबौँको सम्पत्ति विदेशिने, नेपालमा लगानी आकर्षित गर्न कठिन हुने लगायतका समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादका सम्बन्धमा नेपालका सबै राजनीतिक दलहरुले एकमत भएर विधानविपरित गतिविधि गरिरहेको समूहलाई समस्या समाधानका लागि सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नचाहँदा नचाहँदै पनि संघमा राजनीतिक प्रभाव परेको छ, अहिले उच्च स्तरिय समितिको नामका भइरहेका गतिविधि यहाँहरुलाई थाहै छ, यसर्थ त्यस्ता गतिविधि रोक्न पनि राजनीतिक दलले नै भूमिका खेल्नुपर्छ ।”

यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति माननीय डोल प्रसाद (डिपी) अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

जवाफमा माननीय अर्यालले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन हुनुपर्छ भनेर पटकपटक आफ्नो पार्टीले सदनमा माग गर्दै आएको उल्लेख गर्नुभयो ।

फरक प्रसंगमा संघका उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादको वास्तविकता र भ्रमबारे जानकारी गराउनुभयो । कुनै एक असन्तुष्ट समूहले संस्थाको शाख नै गिर्नेगरि एकलौटी रुपमा अवैधानिक गतिविधि गरेको उहाँले उल्लेख गर्नुभयो । जवाफमा अर्यालले भन्नुभयो, “तपाईहरुको विवाद नेपालका राजनीतिक दलले होइन तपाईहरु आफैँले, तपाईहरुकै अग्रजले आन्तरिक रुपमा समाधान गर्नुपर्छ, बाँकी हामीले एनआरएनएलाई एकढिक्का बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने हरसंभव पहल गर्न हामी तयार छौँ ।”

उक्त अवसरमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय हरि ढकालले पहिले पुस्ताका विदेशमा रहेका नेपालीलाई राजनीतिक अधिकार समेत दिनेगरि बहस हुनुपर्नेमा जोड दिनुभयो।

यस्तै आजै उपसभामसख इन्दिरा रानासँग भएको भेटमा पनि प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वर्तमान विवादास्पद अवस्था लगायतका बारेमा जानकारी गराएको छ । भेटमा उपसभापति रानाले आफ्नो तहबाट गर्न सकिने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजको भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, एनसीसी स्वीडेनका निवर्तमान अध्यक्ष राजकुमार पाठक, अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, सल्लाहकार एकनारायण चापागाई, तथा डा. मीन रानाभाट सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।