किन मेरो अधिकार खोसिरहेछौ ?
कविता
— संयोग योञ्जन
मेरा किताबहरु नयाँ थिए,
किनकि म ६ कक्षामा
उक्लिएको विद्यार्थी हुँ,
विद्ययालय ढोकामा पुगेँ,
नयाँ उत्साह लिएर
तर,
विद्यालयको ढोकामा ताल्चा थियो,
उस्सै फर्किएँ ।

शिक्षक उता सडकमा रहेछन्,
नारा लगाउँदै, नाच्दै, गाउँदै, जादू देखाउँदै
शिक्षामन्त्री भन्दै थिए टेलिभिजनमा
“जायज माग छिट्टै पूरा हुनेछ”
तर, साथीहरुको गणित किताब
पाना एकबाटै अड्किएको होला ।
घरअगाडिको सानो पार्कमा
म आफैँ पढ्छु
अङ्ग्रेजीका शब्दहरु
उसैगरि विज्ञान अनि अरु……
बाबासँगै सिकिरहेछु,
साथी ! तिमी के गर्दैछौ ?
मेरो त यस्तै चलिरहेछ ।
मनै आन्दोलित छन् मेरा,
शिक्षकहरु किन सडकमा छन् ?
किन सरकार !
हाम्रा कापी – किताबमा भन्दा
कमिशनको आँकडा र योजनामा
धेरै ध्यान दिइरहेछौ ?
हे शिक्षक ! हे सरकार !
भर्खरको कलिला विरुवा
सुक्न नदेऊ, मलजल गर,
मैले कक्षा ६ को विद्यार्थी,
भन्न सकूँ, पढ्न सकूँ,
बुवाले किनिदिएको डायरीमा
आन्दोलन र दमनको सट्टा
महत्वपूर्ण पाठ लेख्न सकूँ ।
शिक्षक र सरकार दुवैले मलाई,
यदि भविष्य भन्छौ भने,
किन मेरो अधिकार खोसिरहेछौ ?
मौलिक हक हनन गरिरहेछौ ?
मेरो वर्तमान किन तिम्रो खेलको
मोहरा बन्दै छ ? बनिरहेको छ ?


