अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न देउवा राजी

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि पार्टी सजग भएको बताएका छन्।
 
 
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालय बीपीनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि कांग्रेसले पार्टीको विधान नै संशोधन गर्न तयार रहेको बताए । 
 
राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उनले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यक्रम स्थलमा आउन कठिन भएको देखेसँगै तत्काल पार्टी कार्यालयलाई अपाङ्गता मैत्री बनाउने आश्वासनसमेत दिए । 
 
उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्री एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजाल अपाङ्गता संवेदनशील विषय भएकाले पार्टीले गम्भीर भएर जानुपर्ने बताए । 
 
त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितबारे स्पष्ट पारिन् । उनले संविधानमा छुटेका विषयलाईसमेत समेटिन् । 
 
उद्घाटन पछिको प्रशिक्षण सत्रमा नेताहरू केन्द्रीय सदस्य मधु आचार्यले ‘नेपाली कांग्रेस र समावेशी राजनीतिु विषयमा प्रस्तुति दिएका थिए । उनले पार्टी स्थापनाको चरणदेखि नै समावेशी राजनीतिमा जोड दिइरहेको उल्लेख गरे । उनले अब अपाङ्गता भएका व्यक्तिहरूले पनि समान अवसर पाउनु पर्नेमा जोड दिँदै विश्वका देशहरुमध्ये नेपालमा तुलनात्मक रूपमा अवसर पाएको पनि उल्लेख गरे ।
 
त्यस्तै, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जालको प्रयोग र उपयोगिताबारे प्रस्तुति दिए । उनले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुन आग्रह गर्दै कस्ता सूचना शेयर गर्ने र कस्ता सूचना गलत हुन्छन् भनी जानकारी दिए । 
 
त्यस्तै लोकतान्त्रिक अपाङ्ग संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको राजनीतिक अधिकारका बारेमा प्रस्तुति दिए । उनले अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूले हासिल गरेका उपलब्धि र पाउन नसकेका अधिकार केलाएका थिए । 
 
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले खराब मौसम र असहज परिस्थितिबीच पनि दुई सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुले नै उनीहरूको राजनीतिक चेतनामा वृद्धि भएको स्पष्ट भएको भन्दै अब आफ्नो हकका लागि सबैले सक्रिय हुने बेला आएको बताए । 
 
उनले अपाङ्ग संघले राजनीतिक अधिकारका लागि प्रतिबद्धता सार्वजनिक गर्दै आवश्यक परे कांग्रेसको विधान र संविधानसमेत संशोधन गरी अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गराउन दृढ रहेको बताए ।
 
अध्यक्ष चम्लागाईंले संघको केन्द्रीय समितिले तयार पारेका विधान संशोधनका प्रस्तावहरू पार्टीलाई पेश गरिने बताउँदै १६५ वटै निर्वाचन क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशन प्रतिनिधित्व सुनिश्चित गर्न र स्थानीय तहदेखि संघीय संसदसम्म निर्वाचित हुने गरी पार्टी संरचना र नीतिमा सुधार गर्न पार्टीलाई आग्रह गरिने बताए ।
 
उनले अपाङ्गताको बहुआयामिक स्वरूपमाथि प्रकाश पार्दै एउटै समाधानले सबै समस्या समाधान नहुने भएकाले नीतिनिर्माण गर्दा अपाङ्गताको प्रकारअनुसार छुट्टै नीति र योजना आवश्यक रहेकोमा जोड दिए । 
 
आजको स्मारिका र प्रशिक्षण कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्न र समावेशिता व्यवहारमा उतार्न आफूहरूको आन्दोलनलाई थप संस्थागत गर्ने ऐतिहासिक आधार बन्ने दाबी गर्दै उनले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे । 
 
चम्लागाईंले भने, ‘हामी सबै मिलेर उदाहरणीय काम गर्ने संकल्प आजै गरौं’ भन्दै बाटो बिराएर दोबाटोमा गन्तव्यविहीन भइरहेका अपाङ्ग संघका केही नेताहरूलाई मूल घरमा फर्किनसमेत आग्रह गरेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।