साँगुरीगढीमा निःशुल्क स्वास्थ्य शिविर हुने
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
लायन्स क्लब बिराटनगर र लायन्स क्लब पाथीभराको संयुक्त प्राविधिक सहयोगमा आयोजना हुन लागेको शिविर साँगुरीगढी–३ कुसेटारमा, यही असार १४ गते शुक्रबार बिहान १० बजेदेखि सञ्चालन हुनेछ।
शिविरमा स्त्री रोग, मुत्र रोग, दन्त रोग, रेडियोलोजी तथा सामान्य शल्यक्रिया सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
शिविरमा सेवा प्रदान गर्ने चिकित्सकहरूमा मोरङ सहकारी अस्पतालका डा. बालकृष्ण साह, कोशी अञ्चल अस्पतालका डा. सुनिल रेग्मी र डा. दिवाकर विश्वास, नोबेल मेडिकल कलेजका डा. सञ्जय झा, र गेट वेल अस्पतालका डा. राजेन्द्र राजवंशी रहेका छन्।
शिविरमा भिडियो एक्स–रे, रगत परीक्षण र आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
शिविर सफल पार्न गाउँपालिकाको तर्फबाट राजकुमार राई र वडा नम्बर ३को तर्फबाट सुरेन्द्र राईको विशेष समन्वय रहेको छ।
गाउँ कार्यपालिकाले सम्पूर्ण पालिकावासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई स्वास्थ्य सेवा लिन अनुरोध गरेको छ।


