आंखामा झलझली आइरहन्छ

कथा

-ध्रुब एलेक्स

दायाँपट्टि अरुण नदीले सुसेलीरहेछ बायाँपट्टि तमोरको सलसली बगिजाने साङ्गीतिक धुन जस्तो मधुरभावको मध्यभाग तिर बस्थ्यो स्मित घले । घलेका हजुरबुवा हिन्दुस्थानका लाहुरे । बुवा किशान । आमा गाउँकि स्वयंसेवक । घलेकी दिदी जुन्किरिको उज्यालोमा चम्किएकि पुतली जस्ति थिई । पुतलीको वरिपरि झिङ्गा , मौरिहरु घुमिरहेका हुन्थे । घलेकी दिदी मौरीको महको स्वाद जस्ति थिई । उ मौरीहरुसँग खेल्थि । उसले झिङ्गाहरु निकट आउन नदिन वरिपरि सुरक्षागार्ड तैनाथ गरेकी थिई । छुदा फोहोर लाग्ला जस्ति सुकोमल थिइ घलेकी दिदी । धानको पिठो जस्ति । भाग्यको कोखमा राखेर फुलको गर्भधानबाट जन्मिएकी जस्ति रसिली अण्डाकी रानी जस्ति । घलेको घरमा पुरानो क्यासेट थियो । साँझतिर स्कुलेहरु घर फर्कदा एकछिन भोको पेटमा गीत सुनेर फर्किन्थे । घलेकी दिदी मनकी मान्छे जस्ति थिई । स्कुलेहरुलाई झरेका सुन्तला , भुटेको भात , पोलेका मकै समयानुसार बनाएर अलिकति तिते आन्द्रो भरिने गरि बाढिदिन्थि ।

दिनभरि स्कुलमा स्वास्थ तथा जनसंख्या विषयमा सरले पढाउनुभएको यौन सम्झेर केटाहरु सोच्थे घलेकी दिदीलाई हेरेर नै लेखक ले त्यो फिमेल रिप्रोडक्टिभ अर्गान बनाएर त्यसको व्याख्या विश्लेषण गरे होलान जस्तो ! घलेकी दिदीलाई देखेपछि खेतमा कामको लोड बढि भएर गोलागानो चर्किएर तीन दिन ओछ्यान लागेका ठिटाहरु जस्ताको त्यस्तै सन्च भएजस्तो गर्थे । घलेकी दिदी जस्ता सुन्दर तरुनीहरु पृथ्वीमा भएरै होला आकाशले पनि हामी झन के कम भनेर रुपकी सुपरस्टार जुन जन्माइदिएको । जुन जन्मिएपछि केटाहरु रातमा आकाश हेरेर बस्छन् । उनीहरु जुनसँग सिन्क्यौली खेल्न खोज्छन् । जुन उदाउन थालेपछि गाउँघरमा घलेकी दिदीहरु जुनसँग तुलना हुन थाले । गाउँ अलिक शान्त हुन थाल्यो । घलेकी दिदी पनि जुनमा हेरेर शृङ्गार गर्न खोज्छे । जवानहरु घरमा आउन , मसँग बोलुन , मलाई जिस्क्याउन भनठान्छे । साच्चै आकाश गर्भिणी भएर जुन जन्माएजस्तो पृथ्वी गर्भिणी भएर जन्मेकी जस्ती छे घलेकी दिदी । पानीमै चोबलीराखिएर सफा भएजस्ति । भर्खरै माली गाईले जन्माएकी माली बाच्छी जस्ति ।

स्मित घलेको घर परतिर बार्है महिना बगिजाने बाहुनी खोलो थियो । घले खोलाको पानी थुनेर माछा मार्थ्यो हरेक दिन । गंगटाको झिरिमझिरिम पोलेको स्वाद उसलाई खुब मन पर्ने । माछा समाउन थुनिएको पानीमा कहिले गड्यौले माछा कहिले गंगटाका लस्कर । पानी थुनिदिएपछि ढुङ्गाका कापमा लुकेका माछाहरु फुतफुती बाहिर निस्किने । घले मनमनै भन्थ्यो कहाँ जालास् मछेली मेरै ढडिया ! पानी विनाको माछो छट्पटिदै घलेको हातमा आउथ्यो । सिन्कामा उनेर माछाको बजार लाइदिन्थ्यो घले । घलेका बाबै हिन्दुस्तान तिर आमै स्वयंसेवा गर्न गाउँमा । दिदी एक्लै छे घरमा सम्झेर उ छिटोछिटो घर फर्किहाल्नुपर्ने ।

 

घर आउदा जहिल्यै स्कुलेहरु घर वरिपरि हुन्थे । लुकामारी , डन्डिवियो , गट्टी , चोरपुलिस , चुङ्गी र भकुन्डो उनारलाई त्यहि खेल्नुपर्ने जहिल्यै । घलेकि दिदी सबै खेल खुब मन लाएर हेर्ने कति खेल त आफै खेल्ने । घलेकी दिदिजस्ति मान्छेलाई हेर्दैहेर्दै हुर्किएका केटाहरु छिट्टै जवान भइहाले । पीरती , प्रेम र साहराको महत्वमा उनीहरुले स्नातक गरे झै भए घलेकी दिदीको उर्लदो थिएसिस हेरेर , पढेर । केटाहरु मुख मिठ्याउदै हिड्न थाले , जिब्रो पडकाउदै हिड्न थाले । घलेकी दिदी गाउँकि राजाकी छोरी जस्ति थिई । कुनै राजकुमार भेट्न नसकेकी ऊ सबैलाई राजकुमार झै गर्थि तर बाहिर बाहिर मात्र । भित्र उ भित्र ज्वाला थियो कोहि बन्दुकेको पर्खाइमा जस्तै हुटहुटी थियो उनीमा । चन्द्रमा के सुन्दर हून्छ र ! चन्द्रमामा फुलेको फुल जस्ति थिइ घलेकी दिदी । उनको छातीमा जतिबेलै लाल्टिन बलिरहेजस्तो देखिन्थ्यो । उनको कम्मर बारुलाले चिलेर सुनिए जस्तो देखिन्थ्यो भने आखाँमा लज्जावी झार राखेजस्तो हेर्यो कि सबै भुसुक्कै ।

घलेकी दिदी मङ्सिरे परालको दाहींमा पराल ओछ्याएर परालै ओढाएर राख्दा पनि आनन्दले निदाउली जस्ति थिइ । बाख्रालाई घाँस काट्न टाकीको रुखमा चढ्दा छुच्चा चिभेले ठुङ्लान जस्ति थिई । उनी साँझमा सिकुवामा बसेर नाङ्लामा चामल केलाउदा केटाहरु सोच्थे भुस उडेर उसको आखाँमा पसोस् उसले निक्कै बेर केही नदेखोस र उसलाई फर्काइ फर्काई घुमिघिमी हेर्न पाइयोस् । यस्तो अनमोल कि एक मुखे रुद्राक्षको गेडो जस्ति । बद्रि , रमने , डाडाको काइलो , हरिशरण र प्रितमहरु उनैलाई हेरेर हुर्के , बढे , बुझ्ने भए । बरका बोटमा घलेकी दिदी सोइढोले सोइ खेल्दा केटाहरु तल बसेर मच्चिनु मच्चिन्थे मोरा ; बोकाहरु !

सुन्तलाका केस्रामा उनिए जस्ति , नास्पातीको रसमा चुहिएजस्ति घलेकी दिदी कागती निचोरेजस्ति रसिलि थिई । बाहुनी खोलाको काली दहमा लगेर स्विमिङ गरौ हौ आज भन्दा मानुम्ला जस्तो गर्दै नाइ हौ कसैले देख्यो भने भन्थि । पात्लेका पोथ्राहरुमा कटुस टिप्न भनेपछि हुरुक्कै हुन्थि । संस्कारमा उसलाई कसैले झुक्याउन नसक्ने । जति मस्किए पनि खानदानको इज्जत नफाल्नु मेरो धर्म हो भन्थि ।सयौका आखाँहरुले धित मारे तर ठोस धीत कसैले मार्न नसकेकोमा उ सानदार थिई । झुक्काएर एउटा कथाकारले मात्र उसलाई एकदिन अलिअलि फसायो नत्र उ चरित्रमा दाग लाग्नु भनेको अर्थ राम्ररी बुझ्थि । मोरो कथाकार हरिप रहेछ यार ! स्वर्ग देखेर फर्कियो होला । घलेकी दिदीले विहे गरेर गई भने केटाहरु गाँउमा नबस्ने भन्थे । मुग्लान हिडिन्छ भन्थे । ठुलो फर्म सन्चालन गरेर रोजगार दिए जस्तै गरेर उसले केटाहरुको आकर्षण केन्द्र बनाएकी थिई आफुलाई । उनीहरु नआउदा पनि उ एक्लै त बस्नै सक्दिनथि ।

 

काफल , जिम्बु , किम्बु र कहिले हटियाका गुलिया चकलेट लिएर उसलाई दिदा संसार उपहार दिए जस्तो लाग्थ्यो तन्नेरीहरुलाई । कहिलेकाही थोत्रा चप्पल दालमोटमा साटेर लगिदिदा उ खुशीले उफ्रिन्थि र मन बेचैन बनाइदिन्थि । स्वर्ग लोक जस्तो बनाएर सजाएकी आफ्नो घर र गाउँको परिवेशलाई गुरुत्व बलले तानेर आफ्नो आकर्षणमा राखेकी जस्ति घलेकी दिदी एकाएक गाँउबाट अचेल गायब छे । त्यसयता उ कुनै पर्वाहमा भेटिएकी छैन सुत्नुअगि , खानुअगि , मेलो जानेबेला र हरहमेसा घलेकी दिदी त्यसउप्रान्त आखैँमा झलझली आइदिन्छे । कामना छ समयले उसको कहिल्यै जोबन नढलकाइदेवस् । सदैव आफ्नो इज्जतको ख्याल राख्नु घलेकी दिदी ।। छिट्टै भेट्ने आशमा सास नजावस हाम्रो । भगवान सधै तिम्रा दाहिना रहुन् ।।

पाख्रिबास ४ , धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।