रास्वपा सुनसरीमा सभापतिपछि कोषाध्यक्ष अधिकारीले पनि दिए राजीनामा
इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी महामन्त्री लालबिक्रम थापाको मनोपोलीका कारण सुनसरी जिल्ला समितिमा एक पछि अर्का नेताले राजीनामा दिने क्रम बढेको छ।
तल्ला कमिटीमा मनोपोली हावी गराउने, पार्टीको विधि र विधान नमानी नेताहरुको आत्मसम्मानलाई चोट दिने, घाँटी निमोठ्ने काम भएको छ।
आइतबार बिहानमात्र सभापति जीवनकुमार श्रेष्ठले राजीनामा दिएका थिए भने दिउँसो कोषाध्यक्ष देवराज अधिकारीले कार्यबाहक सभापति डीपी अर्याललाई राजीनामा बुझाएकाछन्।
दुई नेताले ७ घन्टाबीच राजीनामा बुझाएका हुन्। रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्याललाई सम्बोधन गर्दै अधिकारीले कोषाध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
जिल्ला सभापति श्रेष्ठले झै कोषाध्यक्ष अधिकारीले पनि आफ्नो राजीनामा पत्रमा पार्टीको कोशी प्रदेश र सुनसरी जिल्ला समिति भित्र चरम गुटबन्दी, शक्ति केन्द्रित सोच र संस्थागत सुशासनको अवमूल्यनले आफ्नो आत्मसम्मानमा गम्भीर चोट दिएको उल्लेख गरेका छन्।
‘लोकतान्त्रिक मूल्य र स्वस्थ बहसको संस्कृति कायम गर्ने भनेर आएको पार्टीभित्र वैकल्पिक विचारलाई अपराध सरह व्यवहार गरिनु गम्भीर चिन्ताको विषय भएको मेरो व्यक्तिगत ठहर छ। देशमा सुशासन कायम गर्न भनी जोडिएको म यस्ता प्रवृत्तिको घोर विरोध गर्दछु र पार्टीभित्रको यो असहिष्णुता, जवाफदेहीविहीनता र प्रतिशोध प्रधान राजनीतिसँग मेरो आत्माले कदापि सम्झौता गर्दैन’, उनले राजीनामामा उल्लेख गरेका छन्।


