एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौ । नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म तीन दिने केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकको मिति तय भए पनि बस्ने स्थान भने अझै निश्चित हुन सकेको छैन।
पार्टीले जनाएको अनुसार, भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा लागेको आगलागीका कारण त्यहाँ बैठक बस्न सम्भव छैन। पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार भवन क्षतविक्षत भएकाले वैकल्पिक स्थान खोज्ने तयारी भइरहेको छ।
‘च्यासलको भवन प्रयोगयोग्य छैन, त्यसैले दसैं बिदा सकिएलगत्तै बैठकका लागि नयाँ स्थान खोजिनेछ,’ अधिकारीले भने, ‘संभवतः कुनै पार्टी प्यालेस वा वैकल्पिक हलमा बैठक बस्न सक्छ।’
एमालेले यसअघि असोज १९ र २० गतेका लागि तोकेको सचिवालय बैठकलाई पनि सार्दै असोज २४ गते बस्ने गरी परिवर्तन गरेको छ। सो बैठकले केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने बताइएको छ।
पार्टीका एक नेताका अनुसार, एमालेको केन्द्रीय कमिटीमा करिब ३५५ जना सदस्य छन्। जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। तर, ओली नेतृत्व छाड्न तयार नरहेको र बरु एक वर्षअघि नै महाधिवेशन गरेर पुनः अध्यक्ष बन्ने तयारीमा रहेको बुझिएको छ।
‘पार्टीभित्र नेतृत्व फेर्ने माग तीव्र छ,’ एक पदाधिकारीले बताए, ‘तर ओलीले नेतृत्व निरन्तरता दिने संकेत देखिएका छन्।’


