अनेरास्ववियु (अखिल) ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई औपचारिक रूपमा पदमुक्त गर्दै संगठनको नेतृत्व महासचिव दीपक धामीलाई जिम्मा
काठमाडौ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई औपचारिक रूपमा पदमुक्त गर्दै संगठनको नेतृत्व महासचिव दीपक धामीलाई जिम्मा दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले कडरियाको अध्याय अन्त्य गर्दै धामीलाई अध्यक्षमा उक्ल्याउने निर्णय गरेको हो।
२३ भदौमा कडरियाले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि संगठनभित्र यसबारे लामो समय अस्पष्टता थियो। अन्ततः आजको बैठकले राजीनामालाई प्रभावकारी मान्दै उनलाई पदमुक्त गरेको स्पष्ट गरियो।
संगठनभित्रको नेतृत्व पुनर्संरचनाअन्तर्गत वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने निर्णय पनि बैठकले गरेको छ। बाँकी पद भने यथावत् राखिने निर्णय भयो।
बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा अखिल इन्चार्ज किशोर विक्रम मल्ल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। आजको निर्णय अब सचिवालय र केन्द्रीय कमिटीमा पेस गरिनेछ।
बैठकको अध्यक्षता संगठनकी उपाध्यक्ष अञ्जना शिवाकोटीले गरेकी थिइन्।


