विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
ढाका । बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले सोमबार सुनाएको फैसलामा तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकसहित तीनैजना शीर्ष अधिकारीलाई कसुरदार ठहर गर्दै समान सजाय निर्धारण गरेको हो।
गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी रहेका तीन सदस्यीय इजलासले ५४ जनाको बयान, प्रमाण र घटनास्थलका विवरणको अध्ययनपछि निर्णय सुनाएको जानकारी दिएको छ।
इजलासका अनुसार विद्यार्थी आन्दोलन नियन्त्रण गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएकी थिइन् र आन्दोलनकारी भेला हुने स्थानमा हेलिकोप्टरबाट बम खसाल्न समेत स्वीकृति दिएकी थिइन्। अदालतले यी कार्यहरूलाई ‘मानवताविरुद्धको अपराध’ को श्रेणीमा राख्दै उनीहरूलाई दोषी ठहर गरेको हो।
हसिना फैसला सुनाइँदासम्म अदालतमा उपस्थित थिइनन्। पछिल्लो राजनीतिक उथलपुथलपछि उनी देश छोडेर भारतमा बस्दै आएकी छन्। कसुरदार तीनै जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको राजनीति फेरि अस्थिरताका संकेत देखिँदैछ।


