लिम्बू समुदायहरुको चाड चासोक तङनामको तयारी

उर्लाबारी । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्ने गर्दछन् ।

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुलदेवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछन् । लिम्बू जातिले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ ।

सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पुजारी) घर बोलाएर कुलदेवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ ।

किराँत याक्थुङ चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाका अनुसार अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछन् । लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् । कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रुपमा पनि छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको सुब्बा बताउनुहुन्छ ।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उँधाैली याममा बालीनाली भित्रयाउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व (चाड) हो ।

काराँत याक्थुङचुम्लुङ उर्लाबारीका सल्लाहकार सुरेन्द्र सेर्माका अनुसार लिम्बू समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा (सावा येत्हाङ)ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । उहाँहरू कुपोषण र अनेक रोगव्याधिको शिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कुलदेवता)सँग प्राथना गर्नुभयो ।

यही प्राथनाले गर्दा नै उहाँहरूले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिनुभयो । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू(देवीदेवता)लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङ (देवता)लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको कङ्लिवा लिम्बूले बताउनुभयो । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिकरूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ । यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।

चासोक तङ्नामको अवसरमा लिम्बू समुदाय बसोबास गर्ने क्षेत्रहरुमा शुभकामना आदानप्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउने गर्दछन् ।
उर्लाबारी-९ आम्बारीमा मंसिर १८ देखि २२ सम्म भब्य मेलाको आयोजना हुँदैछ ।

यसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, ईर्ष्या बिर्सेर आत्मीयताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् । पाहुना आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाई खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् । सामूहिकरूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्दछन् ।

उर्लाबारीमा किराँत याक्थुङचुम्लुङले आउँदो मङ्सिर १८ देखि २२ गते सम्म सामूहिक चासोक तङनाम पर्व मनाउने तयारी खेल संयोजक बिष्णु चोङबाङले बताउनुभयो । । पर्वकै अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, साँंस्कृतिक कार्यक्रमहरु हुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।