सुनसरीबाट एमाले महाधिवेशन प्रतिनिधि छनोटमा प्रदेश सांसदहरू पराजित
सुनसरी । नेकपा (एमाले) को आगामी महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर–१ मा भएको प्रतिनिधि छनोट निर्वाचनमा दुई जना बहालवाला प्रदेश सभा सदस्य आफ्नै पार्टीभित्र पराजित भएका छन् ।
जनताबाट भारी मतका साथ प्रदेश सभामा पुगेका रमेशकुमार बस्नेत (सुनसरी-१ ‘क’) र विजयकुमार राई (सुनसरी–१ ‘ख’) पार्टीको आन्तरिक प्रतिस्पर्धामा भने कार्यकर्ताको समर्थन जुटाउन नसक्दा पराजित भएका हुन् ।
को को चुनिए ?
प्रेस चौतारीका नेता सन्तोष काफ्लेका अनुसार, सुनसरी क्षेत्र नम्बर–१ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी, महिलातर्फ सीता भण्डारी र सुशीला पहाडी, युवातर्फ दिवस राई चयन भएका छन् ।सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरेका छन् । यस्तै, भण्डारी ७६६ मत र ढकाल ७१५ मतसहित निवार्चित भएका हुन् । युवातर्फ राई ८८६ मतले निवार्चित भएका छन् ।
जनप्रतिनिधि भएर चुनावमा सफल भएका नेताहरू आफ्नै पार्टीको आन्तरिक निर्वाचनमा हार्दा एमालेभित्र शक्ति सन्तुलन र स्थापित नेतृत्वप्रतिको असन्तुष्टिको सङ्केत गरेको राजनीतिक विश्लेषण गरिएको छ।


