लेटाङकी अंशु गौतमको हत्या प्रकरण: बलात्कारपछि हत्या गरेको स्वीकार
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा ५९ वर्षीय पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालका अनुसार अधिकारीले अंशुको हत्या गरेको स्वीकार गरेका छन् । आरोपीले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सुरुमा प्रहरीले उनीमाथि नै शंका गरेको थियो । छुटेका उनी काम गर्न भन्दै भागेर भारतको मेघालय पुगेका थिए । प्रहरीले बोलाएपछि फर्किएका थिए ।
प्रहरीका अनुसार घटनाको प्रकृति र पक्राउ परेका व्यक्तिको बयानका आधारमा बलात्कार भएको देखिन्छ । तर, शरीर सडिसकेका कारण चिकित्सकीय रुपमा पुष्टि हुन सक्ने आधार छैन ।पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ ।
असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतमको कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र शरिर क्षतविक्षत अवस्थामा फेला परेको थियो ।


