घाँस काट्न लगेर जबरजस्ती करणी, त्यसपछि हत्या
विराटनगर । दुई महिनादेखि मोरङ प्रहरीले चुनौतीपूर्ण रूपमा अनुसन्धान गरिरहेको १३ वर्षीया अंशु गौतम हत्या प्रकरणको अभियुक्त पहिचान गरी पक्राउ गरिएको छ। मोरङको लेटाङ नगरपालिका–२ की अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा उनका ५९ वर्षीया छिमेकी पदमबहादुर अधिकारीलाई प्रहरीले आईतबार सार्वजनिक गरेको हो।
कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा जस्तै ‘प्रहरी असफल भयो’ भन्ने आलोचना बढ्दै जाँदा, अन्ततः घटना भएको दुई महिनापछि प्रहरीले प्रमाणसहित अभियुक्त पक्राउ गरी घटनाको रहस्य खुलाएको छ।
घाँस काट्न लगेर जबरजस्ती करणी, त्यसपछि हत्या:
गत असोज २१ गते दिउँसो अंशु आफ्नी साथी युरिका महतरासँग नजिकैको स्कुलमा खेलिरहेको बेला पदमबहादुर त्यहाँ पुगेका थिए। युरिकालाई पाँच रुपैयाँ दिएर पठाएपछि उनले अंशुलाई ‘घाँस काट्न सघाउन’ भन्दै फकाए।
जंगलमा पुगेपछि उनले जबरजस्ती करणी गरेको र प्रतिकार गर्दा हातले घाँटी थिचेर हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ। शंका छुटोस् भन्ने उद्देश्यले त्यसपछि हँसियाले घाँटी रेटेको तथ्य पनि खुलेको छ। हत्या गरेर कुनै शंका नहोस् भन्ने हेतुले सदाझै उनी घाँसको भारीसहित घर फर्किएको प्रहरीले जनाएको छ।
आफैले हत्या गरेको अंशुलाई आफै खोज्दै थिए:
अंशु साँझ घर नफर्केपछि परिवारले खोजतलास सुरु गर्यो। हत्या गरेका पदमबहादुर पनि खोजीमा सक्रिय देखिन्थे। परिवारलाई सान्त्वना दिँदै बालिका भेटिन्छिन् भन्दै उनी निरन्तर सहभागी भएका थिए ।
घटना भएको १८ दिनपछि चिसाङ–बेलबारी साझेदारी वनभित्र अंशुको शरीर छुट्टाछुट्टै स्थानमा क्षत–विक्षत अवस्थामामा अंशुको शव फेला परेको थियो।
३सय भन्दा धेरैसँग सोधपुछ, १६ जनामा पोलिग्राफ:
मोबाइल फोन नभएको, साक्षी नपाएको र शव घटनास्थलमै फेला परेपछि अनुसन्धान निकै जटिल बनेको थियो। प्रहरीले ३ सय भन्दा बढीलाई सोधपुछ गर्यो र १६ जनासम्मलाई पोलिग्राफ परीक्षण गर्यो। छिमेकी भएकै कारण प्रारम्भिक सोधपुछ भए पनि पदमबहादुरप्रति शंका तत्काल गहन भएन। तर घटनापछि उनले घर छाडेर भारततर्फ हिँडेको जानकारी पाएपछि प्रहरीको ध्यान उनैतिर केन्द्रित भयो।
भारतबाट फर्किएपछि पदमबहादुर पक्राउ:
छोरा जबरजस्ती करणी प्रयास मुद्दामा कैद भुक्तान गरी छुटेको भोलिपल्ट पदमबहादुर भारतको मेघालयतर्फ हिँडेका थिए। उनले भारत जान लागेको जानकारी परिवारका सबै सदस्यलाई नभनी केवल छोरालाई मात्र दिएका थिए।
प्रहरीले आफन्तमार्फत बोलाउँदा पनि नआएपछि टोली भारत पठाउने तयारी भइरहेकै बेला आफन्तले फकाइ–फकाइ उनलाई नेपाल ल्याए। गत १८ मंसिरमा घर फर्किएपछि उनको बयान फेरि लिइयो। अन्ततः उनले अपराध स्वीकारेपछि प्रहरीले उनलाई पक्राउ गर्यो।
बलात्कार र कर्तव्य ज्यानको मुद्दा दर्ता:
पदमबहादुरमाथि बालिका बलात्कार र कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
प्रहरी उपरीक्षक कबित कटवालका अनुसार, “घाँस काट्ने बहानामा लिएर गएका थिए, प्रतिकार गर्दा ज्यान गएको देखिन्छ। निरन्तर, सूक्ष्म अनुसन्धानपछि अभियुक्त पहिचान गर्न सफल भयौँ।”
सो घटनाको निष्पक्ष छानविन र दोषी उपर कडा कारवाहीको माग राख्दै परिवार र आफन्तले अंशुको शव बुझेको थिएन । उनको शव न्याय पाउने आशामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मै राखिएको थियो ।


