अन्तिम विकल्प बनेर श्रम संस्कृति आएको छ, यो हर्कको पार्टी होइन, सम्पूर्ण नेपालीको संस्कृति हो : हर्क साम्पाङ
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश नेतृत्वविहीन अवस्थामा पुगेको बताएका छन् । न्याय नभएको र शान्ति सुरक्षा नभएको मुलुक बनेको उनको भनाइ थियो ।
श्रम संस्कृति पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा साम्पाङले राजनीतिक दलका नेता इमान्दार नबन्दा देशको यो हाल बनेको बताएका हुन् ।
‘यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ, सरकार छ कि छैन थाहा छैन । रोजगारी नभएको, न्याय नभएको, कहीँ सुरक्षा नभएको देश बनेको छ । देशमा अभिभावक छैन, नेतृत्व छैन’ साम्पाङले भने ।
अहिलेसम्म आफूहरूले चुनेको नेताले देशलाई सही नेतृत्व दिन नसक्दा मुलुकको बेहाल भएको उनले आरोप लगाए ।
‘अहिलेसम्म चुनेको नेतृत्व कस्ता थिए, गहिरो समीक्षा गर्नुपर्ने बेला आएको छ । नेतृत्वलाई गन्तव्य थाहा छैन, आजसम्म चुनेको नेतामा भिजन थिएन । कसरी अर्थतन्त्र उठाउने भन्ने भिजन थिएन । भिजन र दृष्टिकोणबिनाको नेताले देशलाई कहाँ पुर्याउँछ थाहा छैन’, साम्पाङले भने, ‘अन्तिम विकल्प बनेर श्रम संस्कृति आएको छ । यो हर्कको पार्टी होइन, सम्पूर्ण नेपालीको संस्कृति हो ।’


