कोशी प्रदेश अन्तर्गत नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन कार्य सुरु
सुनसरी । सुनसरी र कोसी प्रदेश अन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका जीर्ण तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगन कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
सन २०१४ तिर निर्माण तथा मर्मत गरिएका धेरैजसो स्तम्भ समयसँगै बिग्रिएका र खुइलिएका देखिएपछि दुवै देशका सुरक्षा निकायको समन्वयमा पुनः मर्मत प्रक्रिया तीव्र पारिएको हो।
यसै क्रममा नेपाली तथा भारतीय पक्षका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सुनसरीको विभिन्न सीमा क्षेत्रमा स्थलगत अनुगमन सम्पन्न भएको छ। अवलोकनपछि स्तम्भहरूको वास्तविक अवस्था अध्ययन गरी क्रमबद्ध रूपमा मर्मत तथा रंगरोगन सुरु गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल कुमार थापाले जानकारी दिनुभयो।
समझदारीअनुसार जोर नम्बरका स्तम्भहरू भारतीय पक्षले र बिजोर नम्बरका स्तम्भहरू नेपाली पक्षले मर्मत गर्ने व्यवस्था छ। सोही अनुसार हाल दुवै देशले आफ्नो–आफ्नो जिम्मेवारीअनुसार कार्य अघि बढाइरहेका छन्।
सुनसरीको ६१.९ किलोमिटर सीमा क्षेत्रमा कुल २ सय ८७ वटा सीमा स्तम्भ रहेका छन्। तीमध्ये १ सय ३१ वटा जोर नम्बरका स्तम्भको मर्मत भारतीय पक्षले सुरु गरिसकेर ८१ वटा स्तम्भमा रंगरोगन पूरा गरेको छ। उता, नेपाली पक्षले कोसी गाउँपालिका–८ बाट बिजोर नम्बरका १ सय ३३ वटा स्तम्भको मर्मत तथा रंगरोगन काम प्रारम्भ गरेको छ।
एसपी थापाका अनुसार नेपाली पक्षले सबै बिजोर स्तम्भहरूको मर्मत कार्य तीन साताभित्र पूरा गर्ने लक्ष्य राखेको छ।


