बोधगयामा काग्यु मोन्लम छेन्मो महापूजा सुरु, नेपालबाट हजारौँ भक्तजन सहभागी
मानवी मोक्तान । भारतको पवित्र तीर्थस्थल बोधगयामा बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक काग्यु मोन्लम छेन्मो (महापूजा) भव्य रूपमा सुरु भएको छ। १७औँ अवतारी कर्मपा रेम्पोछेबाट सञ्चालन भइरहेको यो महापूजा डिसेम्बर १५ देखि २१ सम्म, सात दिनसम्म सञ्चालन हुनेछ।
विश्व शान्ति, करुणा र समस्त प्राणीको कल्याणका लागि गरिने विशेष प्रार्थनाका रूपमा चिनिने काग्यु मोन्लम छेन्मोमा नेपालबाट हजारौँ भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। कार्यक्रममा लामा, भिक्षु, उपासक तथा उपासिकाहरूको सक्रिय उपस्थिति देखिएको छ।
नेपाल, भारत, भुटानलगायत विभिन्न देश तथा क्षेत्रबाट आएका हजारौँ बौद्ध धर्मावलम्बीहरू बोधगयामा एकत्रित भई सामूहिक प्रार्थना, ध्यान र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।
काग्यु मोन्लम छेन्मो बौद्ध धर्मावलम्बीहरूले प्रणिधान (विशेष संकल्प) सहित विश्व शान्ति, अहिंसा, मानवता र समस्त जीवको मुक्तिको कामना गर्दै सम्पन्न गर्ने एक महत्वपूर्ण महापूजा हो। यस महापूजाले विश्वभर शान्ति, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।






