बोधगयामा २३ औं काग्यु मोन्लम छेन्मो महापूजा भव्यताका साथ सम्पन्न(फोटो फिचर)
मानवी मोक्तान,बोधगया । भारतको बोधगया—गौतम बुद्धले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमिमा साउथ एसियन बुद्धिस्ट एसोसिएसनको आयोजनामा २३औँ सातदिने काग्यु मोन्लम छेन्मो (महापूजा) भव्यताका साथ सम्पन्न भएको छ।
डिसेम्बर १५ देखि सुरु भएको उक्त महापूजा डिसेम्बर २१ मा ौंसमापन भएको हो। मोन्लम छेन्मो बौद्ध धर्मगुरु १७औँ अवतारी ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जे रिम्पोछेको बाहुली तथा मार्गदर्शनमा सञ्चालन गरिएको थियो।
विश्वका विभिन्न देशबाट ठूलो संख्यामा रिन्पोछे, लामा, भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकाहरू बोधगया स्थित पवित्र बोधि वृक्ष मुनि सञ्चालन गरिएको महापूजामा सहभागी भएका थिए। मोन्लम अवधिभर बुद्धको करुणा, अहिंसा र विश्व शान्तिको कामनासहित सामूहिक प्रार्थना तथा पाठ सम्पन्न गरिएको थियो।
हरेक दिन पूजा अवधिको विश्राम समय तथा साँझका समयमा विश्वका विभिन्न कुनाकाप्चाबाट आएका भिक्षु तथा साधारण अभ्यासकर्ता उपासक–उपासिकाहरूको समूहले कर्मपा गुम्बामा ग्याल्वा कर्मपाबाट आशीर्वाद ग्रहण गरेका थिए।
आयोजकका अनुसार यस महापूजाले विश्व शान्ति, मानव कल्याण, आपसी सद्भाव र करुणाको सन्देश प्रवाह गरेको छ। सहभागीहरूले मोन्लम छेन्मोलाई आध्यात्मिक साधनासँगै विश्व समुदायलाई एकतामा बाँध्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन।











