लेटाङ रन २०८२ : ‘हाम्रो लेटाङ’ विधामा विनोद राई र स्मृती राई प्रथम
लेटाङ, १ माघ। लेटाङ रन २०८२ अन्तर्गत आयोजित ‘हाम्रो लेटाङ’ विधाको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ लेटाङ–३ का विनोद राई र महिलातर्फ लेटाङ–९ की स्मृती राई प्रथम भएका छन्।
विनोद राईले निर्धारित दूरी ३६ मिनेट २० सेकेण्डमा पूरा गर्दै शीर्ष स्थान हासिल गरे भने महिलातर्फ स्मृती राईले ५१ मिनेट ४० सेकेण्डमा दौड पूरा गरी प्रथम स्थान हात पारिन्। पुरुषतर्फ प्रविण बराइली दोस्रो, अमिरहाङ राई तेस्रो, आशिष विश्वकर्मा चौथो र विभाग साह पाँचौँ भए भने महिलातर्फ सुहाना राई दोस्रो, पूजा राई तेस्रो, नुमा लिम्बू चौथो र शितल लिम्बू पाँचौँ स्थानमा रहिन्। ‘हाम्रो लेटाङ’ विधामा लेटाङ नगरपालिकाका बासिन्दाहरूले मात्र सहभागिता जनाएका थिए।
यस विधामा पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेले ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार तथा चौथो र पाँचौँले जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विजेता खेलाडीहरूलाई लेटाङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष डम्बरबहादुर राईले पुरस्कार वितरण गर्नुभएको थियो।-लेटांग खबर


