सोलुखुम्बुमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा
सोलुखुम्बु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति सोलुखुम्बुले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी तेन्जिङ द्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकार र संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको दाबी गर्दै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आह्वान गरिएको छ ।
सल्लेरीमा पत्रकार सम्मेलन गर्दै जिल्ला इन्र्चाजले भदौ २३ र २४ गते ‘जेन–जी’ पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र ‘नेपो किड्स’ को विषयलाई लिएर गरेको आन्दोलन पछि गठन भएको पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको सरकारलाई पार्टीले ‘कठपुतली’ को संज्ञा दिनुभएको छ ।
उक्त सरकार जेने–जी आन्दोलनको मर्म र संविधान विपरित विदेशीको योजनामा निर्माण भएको आरोप पार्टीले लगाएको छ । देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था विकराल बन्दै गएको, भ्रष्टाचार मौलाएको र युवा पलायन बढेको भन्दै पार्टीले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति तीब्र असन्तुष्टि व्यक्त गरेको छ ।
संसदीय व्यवस्थाको असफलताले देश नयाँ विकल्पको खोजीमा रहेको बेला विदेशीहरूको इसारामा जबरजस्ती फागुन २१ गते निर्वाचन गराउन लागिएको पार्टीको ठहर छ ।-सोलु एफएम


