बराहक्षेत्रको बोराबाँध पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्दै
हिराराज राई,धनकुटा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र वडा नं. २ को संगमस्थलमा अवस्थित सप्तकोशी नदीको किनारमा रहेको बोराबाँध हाल पूर्वी नेपालको एक चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। पहिले शान्त र कम मानिस पुग्ने यो स्थानमा अहिले दैनिक रूपमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।
बोराबाँध विशेष गरी सूर्यास्त अवलोकनका लागि प्रमुख आकर्षणका रूपमा परिचित हुँदै गएको छ। सुनौलो सूर्यास्त, सप्तकोशी नदीको खुला दृश्य र प्राकृतिक सुन्दर वातावरणका कारण विशेषगरी साँझपख यहाँ पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ। सामाजिक सञ्जालमा बोराबाँधका तस्बिर तथा भिडियोहरू भाइरल भएपछि यसको लोकप्रियता झनै बढेको स्थानीय सञ्चारकर्मी तथा नानो खबरका सञ्चालक भीषन राईले बताए।
स्थानीय सञ्चारकर्मी राईका अनुसार बोराबाँध क्षेत्रमा क्याम्पफायर, रिसोर्ट, कफीसप तथा खाजा पसलहरू क्रमशः थपिँदै गएका छन्। यसले स्थानीय स्तरमा व्यवसाय विस्तार हुनुका साथै रोजगारीका अवसरहरू समेत सिर्जना गरेको छ। यस प्रकारका गतिविधिले बराहक्षेत्रको स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उनले बताए।
यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोराबाँधको पर्यटन सम्भावनालाई मध्यनजर गर्दै आवश्यक आधारभूत संरचना निर्माणको योजना अघि बढाइने बताएका छन्। उनका अनुसार नदी–आधारित पर्यटनको दीगो विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको छ।
हाल बोराबाँध क्षेत्रमा पर्यटकका लागि जेटबोट, काठे डुंगा (काथेबोट), एटिभी सवारी, घोडाचढी लगायतका मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्। यी गतिविधि थपिएसँगै बोराबाँध पूर्वी नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित हुँदै गएको हो।


