रास्वपामा १६५ निर्वाचन क्षेत्रका लागि ७६८ आकांक्षी
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी आवेदन संकलन सम्पन्न गरेको छ। पार्टीका अनुसार देशभरबाट कुल ७६८ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै निवेदन दिएका छन्।
पार्टी निर्णयअनुसार पूर्व सांसद, पार्टी पदाधिकारी तथा प्रदेश सभापतिहरूले रोजेको निर्वाचन क्षेत्रबाट प्राथमिकताका आधारमा टिकट पाउने भएका छन्। ती व्यक्तिहरूलाई सोही क्षेत्रबाट उम्मेदवार बनाइने पार्टी स्रोतले जनाएको छ।
अन्य निर्वाचन क्षेत्रहरूमा भने पार्टीको केन्द्रीय छनोट समितिले सिफारिस गरेका दुई जना उम्मेदवारमध्ये एक जनालाई अन्तिम रूपमा टिकट प्रदान गरिनेछ। छनोट प्रक्रियामा उम्मेदवारको संगठनात्मक योगदान, जनसम्पर्क, लोकप्रियता र पार्टीको मूल एजेन्डाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको बताइएको छ।
पार्टीले आज दिउँसोसम्म सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।


