रास्वपाले गर्यो झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार सार्वजनिक गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ। परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै पार्टीले विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई मैदानमा उतारेको हो।
पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट निशा डाँगी, क्षेत्र नम्बर २ बाट इन्दिरा राना मगर, क्षेत्र नम्बर ३ बाट प्रकाश पाठक, क्षेत्र नम्बर ४ बाट सम्भु सुस्केरा उम्मेदवार बनेका छन्।
त्यसैगरी, झापा क्षेत्र नम्बर ५ बाट काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका वालेन्द्र शाह (बालेन) उम्मेदवारका रूपमा अघि सारिएका छन्। बालेनको उम्मेदवारीले झापाको राजनीतिक माहोल थप रोचक बनेको छ भने रास्वपाले नयाँ राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले पुरानो शैलीको राजनीतिभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद गर्दै मुद्दा केन्द्रित अभियान सञ्चालन गर्ने जनाएको छ। स्थानीय समस्या, सुशासन, रोजगारी र विकासलाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने पार्टीको रणनीति रहेको बताइएको छ।


