सोनाम ल्होछारको अवसरमा उर्लाबारीमा भव्य सांस्कृतिक महोत्सव आयोजना
उर्लावारी । तामाग समुदायको नयाँ वर्ष पर्व २८६२ सोनाम ल्होछार को अवसरमा उर्लाबारीमा भव्य सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
“ल्होछारला ज्या डावा मुला (नयाँ वर्षको शुभकामना)” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुनेछन् ।
उर्लाबारी–८ स्थित कार्यक्रम स्थलमा भव्य प्रवेशद्वार निर्माण गरिएको छ भने मुख्य मञ्चलाई आकर्षक ढंगले सजाइएको छ । महोत्सवअन्तर्गत २८६२ सोनाम ल्होछार महोत्सव–२०८२ नाम दिइएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा चर्चित कलाकारहरू तारा थेबे लामा, छेसाङ तामाङ, उमेश नेपाली लगायतका कलाकारहरूको सांगीतिक तथा नृत्य प्रस्तुति रहनेछ । साथै विभिन्न नृत्य समूह र सांस्कृतिक टोलीहरूको सहभागिताले महोत्सवलाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ ।
महोत्सव नेपाल तामाङ घेदुङ, उर्लाबारी–८, मोरङ को आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार तमाङ समुदायको मौलिक भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सव स्थल वरपर मेला, खानाका परिकारका स्टल, सांस्कृतिक सामग्रीको प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि राखिएका छन् । स्थानीयवासी तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ ।


