तेह्रथुममा रास्वपाको सामूहिक राजीनामा
तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्य समितिले पार्टीको उम्मेदवार छनोट प्रक्रिया र केन्द्र–प्रदेशको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको छ।
इ. सुरेन्द्र कार्कीलाई टिकट दिने भनिएता पनि अन्तिममा ऋतुराज लिम्बुलाई टिकट दिएपछि रास्वपा तेह्रथुमको सिंगो कमिटीले राजीनामा दिएको हो ।
भदौ २३ र २४ गते सम्पन्न जेन्जी जनआन्दोलनपछि देशले नयाँ राजनीतिक मोड लिएको उल्लेख गर्दै, तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुम का संयोजक इ. सुरेन्द्र कार्कीलाई अन्य दल तथा पक्षसँगको साझा राजनीतिक सहमतिअनुसार आगामी निर्वाचनमा घण्टी चुनाव चिन्हबाट अघि बढाउने निर्णय भएको जिल्ला नेतृत्वको दाबी छ।
उक्त सहमति पार्टीको नियमित प्रक्रिया अनुसार प्रदेश र केन्द्रसम्म औपचारिक रूपमा पूरा गरिएको भए पनि, पार्टीले आफैं पारित गरेको उम्मेदवार छनोट प्रक्रिया विपरीत गई जिल्ला र प्रदेश समितिको भावना बेवास्ता गर्दै ‘अमुक व्यक्ति’लाई टिकट दिइएको आरोप लगाइएको छ।
जिल्ला नेतृत्वका अनुसार यस कदमले पार्टीको विधि र पद्धतिमाथि मात्र होइन, तेह्रथुममा व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमाथि समेत कुठाराघात भएको छ। यसबाट जिल्लाको जनभावनामा गम्भीर असर परेको उनीहरूको निष्कर्ष छ।
केन्द्र र प्रदेशसँग सहकार्य गर्दै गरिएको राजनीतिक सहमति पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै जिल्ला कार्य समिति तेह्रथुम, सबै पालिका समिति तथा सबै वडा कमिटीले सामूहिक रूपमा राजीनामा पेश गरेको विज्ञप्तिमा उल्लेख छ।
राजीनामा दिनेमा जिल्ला कार्य समिति तेह्रथुमका सभापति ई. सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालिगुराँस, छथर, फेदाप, मेन्छयायेम र आठराई पालिका कमिटीका पदाधिकारी तथा सम्पूर्ण वडा कमिटीहरू रहेका छन्।



