मोरङको रंगेलीमा प्रशासन र वडा कार्यालय जलाउनेले कुटे पत्रकार
रंगेली । मोरङको रंगेलीमा इलाका प्रशासन कार्यालय र वडा कार्यालय जलाएको घटनामा प्रत्यक्ष संलग्न रहेका विवादास्पद व्यक्तिले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन् ।
जेनजी आन्दोलनको आवरणमा प्रशासन र रंगेली नगरपालिका–६ को वडा कार्यालय जलाउने घटनाको नेतृत्वकर्तामध्येका अन्दाजी ३३ वर्षीय मोहमद सिराजउद्धिनले सक्रिय पत्रकार विशालकुमार मण्डलमाथि आक्रमण गरेका हुन् । नियमित ‘रिपोर्टिङ’ सकेर घर फर्किने क्रममा मंगलबार साँझ पत्रकार मण्डलमाथि बाटो छेकेर गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
मोरङ क्षेत्र नम्बर २ अन्तर्गत सिजुवास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तासम्बन्धी गतिविधिको ‘रिपोर्टिङ’ गरेर फर्किँदै गरेका बेला रंगेली बजार क्षेत्रमा रोक्दै सिराजउद्धिनले अपशब्द प्रयोग गर्दै अचानक आक्रमण गरेको पत्रकार मण्डलको भनाइ छ । प्रत्यक्षदर्शीहरूका अनुसार मदिराको नशामा लठ्ठ रहेका सिराजुद्धिनले पत्रकारमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट मण्डलको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रेस चौतारी मोरङको कार्यसमिति सदस्यसमेत रहेका मण्डल पूर्वी टाइम्स दैनिकमा कार्यरत पत्रकार हुन् ।


