माघ २३ बाट प्रदर्शनमा आउने ‘कुमारी’ फिल्मको ट्रेलर युट्युब मुभी चार्टमा ट्रेन्डिङ
हिराराज राई,धनकुटा ।माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै बहुप्रतीक्षित प्रेमकथानक चलचित्र ‘कुमारी’को ३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर रिलिज भएको छोटो समयमै युट्युबको मुभी चार्टमा ट्रेन्डिङ पर्न सफल भएको छ।
देशका प्रमुख सहरहरूमा लाइभ म्युजिकल कन्सर्ट सम्पन्न गरेपछि शनिबार बेलुका काठमाडौंको भृकुटीमण्डपमा आयोजित फिल्मको भव्य कन्सर्टमार्फत ट्रेलर सार्वजनिक गरिएको थियो।
ट्रेलरले चलचित्रको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणलाई संक्षिप्त तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। दुई मुख्य पात्रबीचको उतार–चढावपूर्ण प्रेम, पारिवारिक तथा सामाजिक अवरोधको कथालाई निर्देशक दिनेश राउतले मर्मस्पर्शी ढंगले चित्रण गरेका छन्।
डेब्यु कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले आफ्नो भूमिकामा न्यायपूर्ण अभिनय गरेका देखिन्छन्। ट्रेलरमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मानशा शर्माको अभिनय पनि झल्किन्छ।
कन्सर्टमा चलचित्रका पार्श्वगायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एन्ड द लुङा’ को मुख्य प्रस्तुति रहेको थियो। केहर सिंह लिम्बुले कम्पोज गरेका फिल्मका गीतहरू हाल हिट भइरहेका छन्। गीतहरूले कथावस्तुलाई न्याय गरेको देखिन्छ। रिल्स र टिकटकमा फिल्मका गीतमाथि हजारौँ भिडियो बनिसकेका छन्।
चलचित्रमा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब आधा करोड भ्युज पार गरिसकेको छ भने उक्त गीतमा लाखौँ टिकटक तथा रिल्स निर्माण भइसकेका छन्। साथै, चलचित्रका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतहरूले यसअघि नै चर्चा कमाइसकेका छन्।


