बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी, ‘प्रोफेसनल’ समूहको संलग्नताको आशंका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको राजधानीको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी घरबाहिर रहेका बेला उक्त घटना भएको हो।
शुक्रबार साँझ बालेनका मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनी नियमित रूपमा घरमा बत्ती बाल्ने–निभाउने तथा बिरुवामा पानी हाल्ने कार्य गर्दै आएका थिए। हिजो साँझ घर पुगेपछि मूल ढोका फोडिएको र घरभित्रका सामानहरू तितरबितर अवस्थामा देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर (DVR) मेसिन तथा बाथरुम र भान्सामा प्रयोग हुने धाराका टुटीहरू समेत चोरी गरेर लगेका छन्। अन्य सामग्री चोरी भएको–नभएको विषयमा भने थप विवरण सार्वजनिक गरिएको छैन।
घटनाको जानकारी प्राप्त हुनासाथ उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको देखिएको छ। सिसीटिभी फुटेज तथा अन्य प्राविधिक पक्षको अध्ययन गर्दा उक्त चोरी ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा कुनै समयमा भएको हुन सक्ने बताइएको छ।


