झापाको अर्जुनधारामा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बिर्तामोड–खुदुनाबारी सडक खण्डमा गत माघ २१ गते बिहान साढे ६ बजे भएको दुर्घटनामा परी अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बास्कोटाको ज्यान गएको हो।
बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१-०१-०१८ प १६७ नम्बरको स्कुटरले बाटो काट्दै गरेका बास्कोटालाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै उनलाई गम्भीर अवस्थामा उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा माघ २४ गते राति ९:१० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न स्कुटर र चालक इलामको माई नगरपालिका–३ बस्ने ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


