ओखलढुंगामा एमालेमा प्रवेशको लहर
ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओखलढुंगामा पार्टी प्रवेशको क्रम बढेको छ। जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल भए पनि जसपाको प्रभाव क्षेत्र खिजिदेम्बाका वडा अध्यक्ष उम्मेदवार तथा जिल्ला समिति सदस्य वोङ्छे शेर्पा समर्थकसहित एमालेमा प्रवेश गरेका हुन्। शेर्पा २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट खिजिदेम्बा–८ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए र १६५ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्ष जितेको थियो।
एमालेको घरदैलो अभियानका क्रममा शेर्पासँगै नेकपाका पुराना नेता डिबी परियार पनि एमालेमा समाहित भएका छन्। भुसिङ्गा पुगेको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार तथा प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले नवप्रवेशीलाई स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै सुनुवारले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारीसहित परिचालन गरिएको जानकारी दिए। शेर्पालाई निर्वाचन परिचालनको जिम्मेवारी समेत दिइएको छ। शेर्पाले समयको माग अनुसार युवा महिला उम्मेदवार अस्मिता थापा उपयुक्त विकल्प भएकाले उनको पक्षमा माहोल बनेको र जित सुनिश्चित गर्न आफूहरू एमालेमा समाहित भएको बताएका छन्।


