प्रेम विवादले यसरी लियो १६ वर्षीय किशोरको ज्यान
दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको छ।
फुटबल खेलेर फर्किँदै गरेका उनलाई दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका खनालको दुल्लू अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई प्रहरीले करिब १० किलोमिटर टाढा चामुण्डाको जंगलबाट पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको बुझिएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी वा विवादबिना पछाडिबाट एक्कासी चक्कु प्रहार गरिएको थियो।
यस घटनाले दुल्लू क्षेत्र स्तब्ध र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।


