अध्यक्ष घिसिङको दाबी : अब काठमाडौं उज्यालो नेपाल पार्टीको किल्ला बन्छ
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौं बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित काठमाडौं–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौंबाट लडेको बताए। अब काठमाडौं उज्यालोको किल्ला बन्ने उनको दाबी छ।
उनले भने,‘म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौंबाट जनताले चुनेर पठाउँछन भन्ने विश्वासकासाथ चुनावमा लडेको छु। धेरै साथीहरु वा केही पार्टीका ठूला नेताहरु काठमाडौं बाहिर गएर लड्दै हुनुहुन्छ।
काठमाडौंका जनतासँग विश्वास नै छैन, काठमाडौंका जनताले उहाँहरुलाई पत्याउदैन कि भन्ने डरले बाहिर जानुभयो। तर हामीलाई डर छैन्। हामी लड्छौं, हामी जित्छौं। अब काठमाडौं उज्यालोको किल्ला हुन्छ।’

