आज देशभरका भन्सारमा जाँचपास बन्द हुने
काठमाडौं, १५ जेठ । बजेट सार्वजनिक हुने दिन जेठ १५ अर्थात देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ ।
भन्सार विभागले एक सर्कुलर जारी गर्दै मातहतका सबै भन्सार कार्यालयहरूलाई शुक्रबार यात्रु जाँचपास बाहेकका अन्य व्यापारिक मालवस्तुको जाँचपास रोक्न निर्देशन दिएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने दिन करका दरहरूमा हेरफेर हुने भएकाले विभागले यस्तो सर्कुलर गरेको हो।
विभागका अनुसार जेठ १४ गते सम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्रै जाँचपास गरिसकिएकाे छ । तर, बाँकी रहेमा ती वस्तुहरूमा नयाँ बजेट (आर्थिक विधेयक २०८३) ले तोकेको नयाँ करको दर लागू हुनेछ ।
जेठ १६ गते अर्थात शनिबारबाट भने भन्सार जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ मार्फत भएका परिवर्तनहरू भन्सारको आसिकुडा प्रणालीमा अद्यावधिक भए नभएको यकिन गरेर मात्र जाँचपास गर्न विभागले निर्देशन दिएको छ ।


