प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति
काठमाडौं, जेठ १८ — श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा रोस्ट्रमबाट “नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असहमति व्यक्त गरिएको छ।
विज्ञप्तिमा नेपाल–भारत सीमा विवाद, विशेषगरी लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूभाग फिर्ता हुनुपर्ने मागलाई कमजोर बनाउने खालको अभिव्यक्ति आएको आरोप लगाइएको छ। पार्टीले उक्त भनाइले नेपालको सीमा रक्षा, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितमा नकारात्मक प्रभाव पार्ने दाबी गरेको छ।
श्रम संस्कृति पार्टीले सरकारले सीमा सुरक्षाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध जनाएको छ।
विज्ञप्तिको अन्त्यमा पार्टीले “जय माटो, जय देश” भन्ने नारासहित राष्ट्रिय स्वाभिमान र भूगोलको रक्षामा प्रतिबद्ध रहने उल्लेख गरेको छ।


