पत्रकारको सञ्चार सामग्री खोसिएको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौं । पत्रकार नरेन्द्र महतोमाथि दुर्व्यवहार गर्दै सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघद्वारा सोमबार जारी विज्ञप्तिअनुसार जेठ १७ गते महोत्तरीको गौशालामा भइरहेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा केही व्यक्तिहरूले पत्रकार महतोमाथि दुर्व्यवहार गरेका थिए। सो क्रममा उनको सञ्चार सामग्रीसमेत खोसिएको महासंघको महोत्तरी शाखाले जनाएको छ।
महासंघले पत्रकारमाथि भएको उक्त व्यवहारको निन्दा गर्दै समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका अवरोध र दुव्र्यवहार प्रेस स्वतन्त्रताविरुद्ध भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ।
साथै, पत्रकारलाई सुरक्षित र निर्भीक वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्न पनि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।



