यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
काठमाडौँ । सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) सँगको सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षालाई प्राथमिकता दिँदै उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो।
बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, संवत् २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन अध्ययन गर्न बनाइएको समितिको म्याद ४५ दिन थप गरिएको छ। प्रतिवेदनमा उल्लेख भएका सुरक्षा संयन्त्रसम्बन्धी विषयहरूको अध्ययन तथा आवश्यक सिफारिस गर्न समितिको कार्यावधि थप गरिएको सरकारले जनाएको छ।
भूमि व्यवस्थापनतर्फ सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा पनि नियुक्ति गरेको छ। आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्। सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठ नियुक्त भएका छन्।


