पाँचथर कांग्रेसका सहसचिव गजेन्द्र राईले पार्टी त्यागे, श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने
पाँचथर । नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले नेपाली कांग्रेसको साधारण सदस्यता त्यागेको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै राईले कांग्रेससँगको आफ्नो लामो राजनीतिक यात्रा समाप्त भएको बताएका हुन्। उनले पार्टी छाड्ने निर्णय व्यक्तिगत राजनीतिक दृष्टिकोण र आगामी योजनासँग सम्बन्धित रहेको उल्लेख गरेका छन्।
राई अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मा प्रवेश गर्ने तयारीमा रहेका छन्। पार्टी स्रोतका अनुसार उनलाई जेठ २३ गते पाँचथरको जेभालेमा आयोजना हुने कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराइनेछ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित राईको कांग्रेसबाट बहिर्गमनले जिल्लाको राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ। उनको निर्णयले नेपाली कांग्रेसको स्थानीय संगठनमा केही प्रभाव पार्न सक्ने विश्लेषण भइरहेका बेला श्रम संस्कृति पार्टीका कार्यकर्ता भने उत्साहित देखिएका छन्।
राईको पार्टी परिवर्तनलाई आगामी स्थानीय राजनीतिक समीकरणसँग जोडेर समेत हेरिएको छ।


