रविले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
काठमाडौँ, जेठ २५ — संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बोलाएको सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरूको आंशिक सहभागिता रहेको छ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये चार दलका सभापति तथा अध्यक्षहरू अनुपस्थित रहेका छन्।
बैठकमा नेपाली कांग्रेस का सभापति गगन थापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल तथा श्रम संस्कृति पार्टी का अध्यक्ष हर्कराज राई सहभागी नभएको जनाइएको छ।
यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन्।
शीर्ष नेताहरू अनुपस्थित रहे पनि विभिन्न दलका वरिष्ठ नेताहरू बैठकमा सहभागी छन्। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुन लगायतको उपस्थिति रहेको छ।
संसद्को अवरोध हटाउने, सदनको नियमित कार्यसूची अघि बढाउने तथा राजनीतिक सहमति खोज्ने उद्देश्यसहित बैठक आयोजना गरिएको बताइएको छ। बैठकबाट संसद्को गतिरोध अन्त्यका लागि साझा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ।


