रास्वपाको कोशी प्रदेश प्रथम अधिवेशन जेठ २७ मा हुने
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले आफ्नो प्रथम प्रदेश अधिवेशन जेठ २७ गते आयोजना गर्ने भएको छ।
सुन्दरहरैंचा नगरपालिका–५, विराटचोकस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा बिहान ७ बजेदेखि सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश समितिले जनाएको छ।
अधिवेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट चयन भएका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश तहका पदाधिकारी तथा सदस्य, केन्द्रीय तहका पदाधिकारी तथा सदस्य तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
प्रदेश समितिले अधिवेशनलाई सफल, सभ्य तथा ऐतिहासिक बनाउन सम्बन्धित सबै प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेको छ।
रास्वपाले उक्त अधिवेशनलाई कोशी प्रदेश संगठन सुदृढीकरण, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


