धनकुटामा लागुऔषध विरुद्ध सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न
धनकुटा, असार ६ । धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
आज धनकुटा नगरपालिका–५ स्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हिलेका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद सिग्देल, प्रहरी निरीक्षक रामप्रसाद खनाल, नागरिक समाजका प्रतिनिधि, अन्तरपार्टी महिला सञ्जाल, भूतपूर्व प्रहरी संगठन, पत्रकार, सुनौलो जीवन नेपाल सुधार केन्द्र, विद्यार्थी तथा पूर्व लागुऔषध प्रयोगकर्तालगायत गरी करिब ६० जनाको उपस्थिति रहेको थियो।
सहभागीहरूले लागुऔषधको बढ्दो प्रयोग र त्यसबाट समाजमा पर्ने नकारात्मक असरबारे छलफल गर्दै यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा लागुऔषध दुव्र्यसन न्यूनीकरण, युवापुस्तालाई सचेत बनाउने उपाय तथा समुदायस्तरमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी गराइएको थियो।


