मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु, चालक पक्राउ
मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–६ निवासी २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित तरुणचोकमा उर्लाबारी–मधुमल्ला सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खस्दा मगर गम्भीर घाइते भएका थिए।
बिहान करिब ७ः१० बजे भएको दुर्घटनापछि घाइते मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक झापाको दमक नगरपालिका–४ निवासी १९ वर्षीय बुद्ध तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


