मेची राजमार्ग अवरुद्ध हुँदा इलाम सहित पूर्वी पहाड प्रभावित
इलाम । पूर्वी पहाडको लाइफ लाइन मानिने मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएपछि इलाम सदरमुकामसहित मेची पहाडका जिल्लाहरू प्रभावित बनेका छन्।
सोमबार सोही क्षेत्रमा गोलिया बोकेको ट्रक खोलामा खसेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।
निरन्तर वर्षा र पहिरोका कारण राजदुवाली क्षेत्रमा समस्या बढ्दै गएको छ। सडकको दीर्घकालीन समाधानका लागि निर्माण कार्य जारी रहे पनि पूरा हुन नसक्दा हरेक वर्ष समस्या दोहोरिने गरेको छ।
वैकल्पिक मार्गका रूपमा रहेका मेची करिडोर, बेलासे–भञ्ज्याङ तथा तिल्केनी–सिमलगोला सडकखण्डमा समेत पुल नहुँदा वा बाढीले क्षति पुर्याउँदा यातायात सञ्चालन प्रभावित भएको छ।


