कोशी अस्पतालको जग्गामा बनेका संरचना हटाउन तीनतिरबाट डोजर
विराटनगर। कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संस्थाले निर्माण गरेका संरचना हटाउन सोमबार बिहानदेखि तीनतिरबाट डोजर चलाइएको छ।
अस्पताल अगाडिको अस्पताल चोक, दक्षिण–पूर्वतर्फको देवकोटा चोक तथा अन्य प्रवेश क्षेत्रबाट एकैसाथ डोजर प्रयोग गरी संरचना भत्काउने काम सुरु गरिएको हो।
विराटनगर–७ स्थित अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए।
ती संस्थाहरूले अस्पतालको जग्गामा निर्माण गरिएका २६ वटा सटर तेस्रो पक्षलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएको पनि जनाइएको छ।
संरचना हटाउने कार्यका लागि मोरङका प्रहरी प्रमुख एसपी कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालगायतको टोली बिहानैदेखि खटिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


