झापामा अवैध रूपमा लुकाइएका करिब ३८ टन खरबुजाको बिउ बरामद
झापा, असार २९ । झापाको भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक बशुन्धरा खड्काको नेतृत्वमा ५५ सदस्यीय टोलीले भद्रपुर–३ ज्ञानेचोकस्थित भिमलाल सुवेदीको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरका दुई कोठाबाट ९४८ बोरा खरबुजाको बिउ बरामद भएको प्रहरीले जनाएको छ। प्रत्येक बोरामा ४० किलोग्रामका दरले जम्मा ३७ हजार ९२० किलोग्राम (करिब ३७.९२ टन) खरबुजाको बिउ फेला परेको हो।
बरामद गरिएको बिउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी भद्रपुर भन्सार कार्यालय लाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


