बहुमूल्य वस्तुको प्रलोभन देखाएर ठगी गर्ने ६ जना पक्राउ
पोखरा, असार २९ । बहुमूल्य वस्तु भएको भन्दै सेतो ढुङ्गाजस्तो टल्किने पदार्थ देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२६ कालीकाचोकस्थित भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन्।
यस्तै, म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा–२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा–२७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा कास्कीको पोखरा–२१ निर्मलपोखरी घर भई हाल पोखरा–५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


