सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजका २० वटा ढोका खोलियो
सुनसरी। लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न थालेको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सोमबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
नदीमा पानीको मात्रा निरन्तर बढिरहेकाले कोसी ब्यारेजका ५२ वटा मुख्य र दुई वटा नहरका गरी कुल ५६ वटा ढोकामध्ये हाल २० वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।
पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराएर खतरा संकेत जारी गरिएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ।
सुरक्षा निकायले कोसी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।


