इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग तथा पाँचथरको ओयाम र फलैँचा क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, असार ३० — लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

बागमती प्रदेशअन्तर्गत ललितपुरको बागमती गाउँपालिका क्षेत्रमा पर्ने भट्टेडाँडा र भालुखोलामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण फाखेल–कुलेखानी सडक सञ्चालनमा आउन सकेको छैन। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोकिएको छ।

यद्यपि, हेटौँडा–काठमाडौं जोड्ने भैँसे–भीमफेदी सडकखण्ड तथा मुग्लिन–नारायणगढ सडकमा खसेका पहिरो हटाइएपछि ती मार्गमा यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग तथा पाँचथरको ओयाम र फलैँचा क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। उदयपुरको कटारी क्षेत्रमा सिद्धिचरण लोकमार्गका तीन स्थानमा पहिरो खसेपछि सडक यातायात ठप्प बनेको छ। भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ओखलढुङ्गा र खोटाङका यसअघि अवरुद्ध सडकहरू पुनः सञ्चालनमा आएका छन्।

गण्डकी प्रदेशमा स्याङ्जाको सुम्रेखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। कास्कीका विभिन्न ग्रामीण सडक तथा म्याग्दीको बेनी–दरवाङ सडकखण्ड पनि पहिरोका कारण बन्द छन्।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक र गुल्मीको पुर्तिघाट क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्। गुल्मीस्थित मदन भण्डारी राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशका कर्णाली करिडोर र कर्णाली राजमार्गमा खसेका पहिरो हटाइएकाले ती सडकमा यातायात सञ्चालन सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीले अधिकांश क्षेत्रमा अझै वर्षा जारी रहेकाले नयाँ पहिरो खस्ने तथा बाढी आउने जोखिम कायम रहेको भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖