कोशीमा लागू औषधविरुद्धको अभियान : ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित चार जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषधिसहित चार जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ७० क्याप्सुल, डिसाइक्लोमाइन १२९ ट्याब्लेट तथा ५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ आइतबारे क्षेत्रमा अस्थायी प्रहरी चौकी जनताबस्ती र प्रहरी चौकी बालग्रामबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय २३ वर्षीय भवानी गुरुङलाई ट्रामाडोल ७० क्याप्सुल र डिसाइक्लोमाइन १२९ ट्याब्लेटसहित पक्राउ गरेको हो।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीबिट क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को ३३ प ८३ नम्बरको मोटरसाइकलबाट ४ ग्राम २७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–१ का ३६ वर्षीय नारायण बजगाई र पछाडि सवार सोही स्थानका २६ वर्षीय युवराज ढकाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, विशेष सूचनाका आधारमा प्रहरी चौकी जलथलबाट खटिएको टोलीले झापाको हल्दीबारी गाउँपालिका–३ का २६ वर्षीय सनम गुरुङलाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरीले लागू औषध कारोबार तथा दुव्र्यसन नियन्त्रणका लागि पक्राउ कारबाहीसँगै जनचेतनामूलक कार्यक्रम र मनोपरामर्शसमेत सञ्चालन गरिरहेको जनाएको छ।


